[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= मलेसिया स्थित नेपाली राजदूतावासको सहयोग समन्वयमा मलेसियामा विभिन्न घरफिर्ती केन्द्रमा रहेका नेपाली श्रमिकहरु स्वदेश फिर्ती भएका छ्न ।
दूतावासले आफ्नो पुर्व घोषणा अनुरुप मलेसियाका अध्यागमन विभाग (इमिग्रेशन) संग तथा घरफिर्ती केन्द्र प्रमुखसंगको समन्वयमा पछिल्लो यो अप्रिल महिनाभित्रै २८ जना भन्दा बढी नेपाली श्रमिकहरु लाई सकुशल घर फिर्ता पठाइएको नेपाली राजदूतावास क्वालालम्पुर मलेसियाका प्रथम सचिव एवम् जेल तथा डिटेसन शाखा प्रमुख वलिराम प्रसाद धामीले जानकारी दिनुभयो ।
स्मरण रहोस् केहि दिन पहिले मात्रै नेपाली राजदूतावास का प्रथम सचिव धामी लगायतका कर्मचारीले विभिन्न कारणबँस घर फर्किन नपाएर घरफिर्ती केन्द्रमा रहेका नेपाली हरुलाई स्वदेश फर्काउने उदेश्यले मलेसियाको काजाङमा अवस्थित सेमेनिया घरफिर्ती केन्द्र (डिटेन्सन क्याम्प) प्रमुख लगायतसंग भेटघाट तथा छलफल गरेका थिए ।

सोही अनुरुप नै दूतावासको बिशेष सहयोग समन्वयमा सेमेनिया घरफिर्ती केन्द्रबाट यहीँ मिति सन् २०२४ अप्रिल महिना ५ तारिखको दिन ४ जना र अप्रिल २४ तारिखको दिनमा १८ जना र केडाह बेलान्तिक घरफिर्ती केन्द्रमा रहेका ६ जना स्वदेश फिर्ता भएको प्रथम सचिव धामीले बताउनुभयो ।
स्वदेश फर्केका ति सबै नेपाली श्रमिकहरुलाई आवश्यक पर्ने यात्रा अनुमतिपत्र र दुईजनाको हवाई टिकट दूतावासले नै नि:शुल्क सहयोग गरेको र एकजना लाई नेपाली जनसम्पर्क समिति मलेसियाका सभापति चोलाकान्त पंगेनीले हवाई टिकट सहयोग गरेको साथै अन्य लाई उनीहरु पहिले कार्यरत रोजगारदाता कम्पनी र घरपरिवारलेनै हवाई टिकट सहयोग गरेको प्रथम सचिव धामीले बताउनुभयो ।
दूतावासले विगतदेखीनै यहाँ विभिन्न ठाउँको घरफिर्ती केन्द्रमा रहेका टिकट अभावमा स्वदेश फर्किन नपाएका नेपाली श्रमिकहरुको यहाँस्थित व्यक्ति र संघसंस्थाको समन्वयमा पनि उद्दार गरि स्वदेश फर्काउने कार्य गर्दै आएका छ्न ।





















