आइपिएलमा कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई हरायो।

एजेन्सी := इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट खेल अन्तर्गत कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई १०६ रनको फराकिलो रन अन्तरले पराजित गरेको हो ।

कोलकोताले दिएको २७३ रनको विशाल लक्ष्य पछाएको दिल्ली १७.२ ओभरमा १६६ रन बनाएर अल आउट भएको थियो । त्यसैगरी यसअघि टस जितेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ७ विकेट गुमाउदै २७२ रन बनाएको थियो ।

यो आइपिएल इतिहासमा एक इनिंगमा बनेको दोस्रो ठुलो टोटल हो । यसअघि यसै आइपिएलमा सनराइजर्सले मुम्बई इण्डियन्सविरुद्ध २७७ रन बनाएको थियो ।

यो जितपछि कोलकोताले लगातार तीन खेलमा जित हासिल गर्दै ६ अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यसैगरी दिल्लीको भने ४ खेलमा एक जित र तीन हारसहित केवल २ अङ्क रहेको छ ।