एजेन्सी (जापान):= ताइवानको पूर्वी तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । आज बुधवार बिहान स्थानीय समय अनुसार बिहान ७:५८ बजे ७.४ म्याग्निच्युडको भूकम्प गएको हो । सन १९९९ सेप्टेम्बर २१ पछिको सबैभन्दा ठूलो भूकम्प यहि भएको स्थानीय अखबार ताईपेई टाइम्सले उल्लेख गरेको छ ।
ताइवानको हुआलिआन काउन्टीलाई केन्द्रबिन्दु बनाएको भूकम्प धक्का ताइवानभरी महसुस गरिएको छ । जमिनबाट साढे १५ किलोमिटर मूनि भूकम्प गएकोले क्षति कम भएको बताइएको छ । ताइवानका अधिकारीहरुले आज विद्यालय बन्द गर्ने भएका छन्।
चिनियाँ अखबार ग्लोबल टाइम्सका अनुसार चीनका चचिआङ, फुचिआन, चिआङ्सु, क्याङ्तोङ प्रान्त तथा साङ्हाई क्षेत्रमा पनि भूकम्प महसुस भएको छ । भूकम्पबाट अहिलेसम्म कुनै मानविय क्षति सार्वजनिक भएको छैन ।
भूकम्पपछि टापु र यसका छिमेकी देशहरूमा सुनामीको चेतावनी जारी गरेको छ। ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प हो,’ भूकम्प मापन अधिकारीहरूले बताएका छन।
३ मिटरसम्मको सुनामी छालहरू जापानको दक्षिणपश्चिमी तटीय क्षेत्रका ठूलो क्षेत्रमा पुग्ने अनुमान गरिएको जापान मौसम विज्ञान एजेन्सीले जनाएको छ।
सन् २०११ को मार्चमा तोहोकुमा भूकम्प र त्यसपछि सुनामी आउँदा शुरुमा केही सेन्टिमिटरको छाल मात्रै भए पनि पछि डरलाग्दो सुनामीमा परिणत भएको स्मरण गराउँदै त्यहाँका बासिन्दालाई सावधानी अपनाउन चेतावनी दिइएको खबरमा उल्लेख छ । यस्तै फिलिपिन्समा पनि सुनामीको चेतावनी दिइएको छ । भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।




















