इलाम निर्वाचन क्षेत्र न.२ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा रास्वपाको तर्फबाट मिलन लिम्बू उम्मेदवार।

काठमाडौं := राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम जिल्ला निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा पार्टीको तर्फबाट पत्रकार मिलन लिम्बूलाई उम्मेदवार बनाउने घोषणा गरेको छ ।

रास्वपाले आज एक विज्ञप्ति जारी गर्दै पत्रकारितामा आबद्ध रहँदै आउनुभएका लिम्बूलाई उम्मेद्वाार बनाउने निर्णयबारे जानकारी दिएको हो । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का महासचिवसमेत रहनुभएका लिम्बूलाई पार्टीको विधानअनुसार प्रारम्भिक निर्वाचनका लागि उम्मेदवारहरुबीच छलफलपछि उम्मेदवार बनाउने निर्णय भएको थियो ।

पार्टीको आज बसेको बैठकले प्रारम्भिक निर्वाचनमा सर्वसम्मतिमा निर्वाचित भई पार्टीका तर्फबाट आसन्न उपनिर्वाचनमा ‘घण्टीवाहक’ उम्मेदवारका रुपमा चयनको निर्णय गरेको पार्टीका केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले जानकारी दिनुभयो ।

प्राइमरी इलेक्सनका लागि दरखास्त दिएका ६ जनालाई नै आज केन्द्रीय कार्यालयमा छलफलका लागि बोलाइएको थियो । महेन्द्र थापाबाहेक ५ जना छलफलमा उपस्थित भएका थिए । स्थानीय, जनजाति र शिक्षित युवा भएकाले लिम्बूलाई उभ्याउने विषयमा सबैजना सहमत भएको बताइएको छ ।

इलाम २ मा एमालेले स्वर्गिय शुभाषचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई र नेकपा एकीकृत समाजवादीले जितबहादुर राईलाई उम्मेदवार बनाउने निर्णय गरिसकेका छन् । राप्रपाले भने लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।