ओस्कारको ९६औं संस्करण: ‘ओपनहाइमर’लाई सात अवार्ड प्रदान।

एजेन्सी:= ९६औं एकेडेमी अवार्ड (ओस्कार)का विजेताहरूलाई आइतबार पुरस्कार प्रदान गरिएको छ । सबैभन्दा बढी ओपनहाइमरले उत्कृष्ट चलचित्र र उत्कृष्ट अभिनेतामा किलियन मर्फीसहित सात पुरस्कार जितेको छ ।

१३ विधामा मनोनयनमा परेको ओपनहाइमरबाट रोबर्ट डाउनी जुनियरले उत्कृष्ट सहायक अभिनेताको अवार्ड चुम्नुभएको छ । क्रिस्टोफर नोलनले उत्कृष्ट निर्देशक एवं चलचित्र सम्पादन, छायांकन र ओरिजनल स्कोरको अवार्ड जित्नुभएको छ ।

एम्मा स्टोनले पुअर थिङसमाको अभिनयका लागि उत्कृष्ट अभिनेत्रीको अवार्ड पाउनुभएको छ । पुअर थिङसले उत्कृष्ट उत्पादन डिजाइन, मेकअप र पोसाक डिजाइनको अवार्ड पनि जित्नुभएको छ । सर्वोत्कृष्ट सह–अभिनेत्रीको अवार्ड द होल्डोभर्सकी स्टार डाभिन जोय रान्डोल्फले प्राप्त गर्नुभएको छ ।

गतवर्ष अमेरिकाको सबैभन्दा धेरै कमाउने चलचित्र बनेको ‘बार्बी’ले बिली इलिस र उहाँको भाइ फिनिसले लेखेको गीतका लागि एकमात्र सर्वश्रेष्ठ मौलिक गीतको पुरस्कार प्राप्त गरेको छ ।

एनाटोमी अफ अ फलले उत्कृष्ट मौलिक पटकथातर्फको अवार्डको पुरस्कार जितेको छ भने युक्रेनी डकुमेन्ट्री मारिउपोलमा २० दिनले उत्कृष्ट डकुमेन्ट्रीको अवार्ड आफ्नो पोल्टामा परेको छ । यो युक्रेनले पाएको पहिलो ओस्कार अवार्ड हो । बेलायती चलचित्र द जोन अफ इन्टरेस्टले उत्कृष्ट अन्तर्राष्ट्रिय फिल्म अवार्ड पाएको छ ।