साउदी अरेबिया := पश्चिम एशियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा नेपाली टोली पराजित भएको छ । बिहीबार राति साउदी अरेबियामा खेलिएको फाइनल खेलमा बलियो प्रतिद्वन्द्वी जोर्डनले नेपाललाई पेनाल्टी सुटआउटमा ५-३ गोलले हराउँदै उपाधि चुमेको हो ।
नेपालले सन् २०१० यता मुख्य प्रतियोगितामा एघार पटक फाइनलमा स्थान बनाए पनि उपाधि भने जित्न सकेको छैन। निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । नेपालका लागि सविता रानामगरले निर्धारित समयको २८औँ मिनेटमा गोल गरेकी थिइन् ।
निर्धारित समयको ७३औँ मिनेटमा जोर्डनकी फेरासले जवाफी गोल गरिन् । यसैगरी ८९औँ मिनेटमा जोर्डनकी अबु साबाले गोल गर्दै आफ्नो टोलीलाई २-१ को अग्रता दिलाइन् । इन्जुरी समयको दोस्रो मिनेटमा नेपालले पेनाल्टी प्रहारको अवसर पायो । त्यो अवसरलाई सदुपयोग गर्दै नेपालका लागि गिता रानाले नेपालका लागि दोस्रो गोल गरिन् ।
गिताको गोलपछि निर्धारित समयको खेल २-२ को बराबरीमा पुगेको थियो । त्यसपछि खेल पेनाल्टी सुटआउटमा गयो । तर, पेनाल्टी सुटआउटमा जोर्डनले नेपाललाई ५-३ गोलले हरायो । प्रतियोगितामा नेपाल आमन्त्रित टोलीको रुपमा सहभागी भएको थियो ।




















