काठमाडौं := निर्देशक मिलन चाम्स निर्देशित ऐतिहासिक अन्तर्राष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । यही फागुन ११ गतेदेखि सिनेमाघरमा आउने तयारी रहेको यो चलचित्रको दोस्रो ट्रेलर सोमबार सार्वजनिक गरिएको हो । ट्रेलरलाई ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ ।
चलचित्रको दोस्रो ट्रेलरमा त्यतिबेलाको समाज, बेलायती गोर्खा सेनामा भर्ना हुँदाको उत्साह र त्यसपछिको संघर्षमा केन्द्रित छ । चलचित्रको पहिलो ट्रेलर बेलायती गोर्खा सैनिकले सन् १९४९ मा मलायको इमरजेन्सी जंगल युद्धमा गरेको लडाइँको सेरोफिेरोमा थियो भने दोस्रो ट्रेलरमा मलायको युद्धसँगै ती सैनिकहरूको जीवनशैली, उनीहरूको परिवारसँग सम्बन्ध र परिवारको त्यागको कथालाई प्रस्तुत गरिएको छ ।
आफ्नो छोरा तथा श्रीमान्लाई सैनिक बनाउन र युद्धमा पठाउनको परिवारले गर्नुपरेका सम्झौतालाई ट्रेलरमा मार्मिक रूपमा प्रस्तुत गरिएको छ । परिवारसँगैको बिछोड त्यतिबेला बिदेशमा रहेका सैनिकको खबर पाउन उसका परिवारले एउटा चिठ्ठीका लागि महिनौं कुर्नुपर्ने बाध्यातालाई पनि ट्रेलरमा मर्मस्पर्शी रूपमा प्रस्तुत गरिएको छ । दोस्रो ट्रेलरमा बेलायती गोर्खा सैनिकको साहसिक युद्धसँगै उनीहरूका परिवारको त्याग समर्पण र विछोडको पीडालाई सशक्त रूपमा देखाइएको छ ।
यो चलचित्रको ५ फागुन शनिबार धरानमा सम्पन्न ऐतिहासिक रेड कार्पेट प्रिमियरमा अतिथि तथा दर्शकबाट पाएको सकरात्मक प्रतिक्रियाबाट आफू निकै उत्साहित भएको निर्देशक मिलन चाम्सले बताउनुभयो । यस्तै बेलायतको लण्डनस्थित सिनेवल्र्डमा गरिएको पहिलो ऐतिहासिक अन्तर्राष्ट्रिय रेडकार्पेट प्रिमियर र बेलायतका प्रधानमन्त्री ऋषि सुनाकले लेख्नुभएको शुभकामना सन्देशले आफूलाई थप उत्साहित बनाएको निर्देशक चाम्सको भनाइ छ ।
नेपाली, अंग्रेजी, कोरियन र हिन्दी भाषामा निर्माण गरिएको यो चलचित्रको प्रजातन्त्र दिवसको अवसरमा ७ फागुनमा पोखरामा प्रिमियर गरिएको थियो । पोखरा मिडटाउन सिनेमाजमा ब्याण्डबाजाका साथ प्रिमियर गरिएको थियो । प्रिमियर शोको उद्घाटन गण्डकी प्रदेशकी उपसभामुख विनाकुमारी थापाले गर्नुभएको थियो ।
उहाँले गोर्खा वारियर नेपालीको पहिचान भएको चलचित्र रहेको बताउनुभयो । ७० वर्षअगाडिको कथा सिनेमाको पर्दामार्फत हेर्न पाउनु नौलो भएको उहाँको भनाइ थियो । गण्डकी प्रदेशका सांसद वेदबहादुर गुरुङ (श्याम)ले गोर्खा वारियर सबै विषयमा उत्कृष्ट रहेको भन्दै प्रशंसा गर्नुभयो ।
प्रिमियर शो हेर्न पुग्नुभएका सेवा निवृत्त बेलायती सेनाहरूले सिनेमाभित्र आफ्ना कथावस्तु रहेको सुनाउनुभयो । यस्तै आज ९ फागुनमा काठमाडौंमा रेड कार्पेट प्रिमिय गरिँदैछ । गोर्खा वारियरमा नवअभिनेता रितेश चाम्ससँगै विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायत कलाकारको अभिनय छ ।
लण्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा सुमन राई र सुस्मिता वाइवा हुनुहुन्छ भने कार्याकारी निर्मातामा प्रशान्त थापा र सह–निर्मातामा रूपमा सुरेश राई रहनुभएको छ ।