सुन काण्ड, ललिता निवास जग्गा प्रकरणमा सरकारले आफ्ना मान्छे जोगाउनमा लाग्यो: केपी ओली।

कैलाली:= नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार भ्रष्टाचार नियन्त्रणमा असफल भएको टिप्पणी गर्नुभएको छ । कैलालीको सुख्खडमा आयोजित एमाले कैलालीको नवौँ जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै अध्यक्ष ओलीले भ्रष्टाचारमा आफ्नै मान्छे पर्न थालेपछि सरकार नियन्त्रणमा चुकेको बताउनु भयो ।

अध्यक्ष ओलीले १ वर्षे प्रचण्ड नेतृत्वको सरकारले जनमुखी काम गर्न नसकेको भन्दै एमाले नेतृत्व बिना देश उधो गतिमा लाग्ने दाबी गर्नुभयो । अध्यक्ष ओलीले सरकार सुन तस्करी प्रकरणमा आफैँ डुबेको आरोप लगाउनुभयो । सुन तस्करी नियन्त्रणका नाममा आफ्ना मान्छे जोगाउने खेलमा सरकार रहेको उहाँले बताउनुभयो।

सुन काण्ड, ललिता निवास जग्गा प्रकरण, बाँसवारी जुत्ता कारखाना लगायतमा आफ्ना मान्छे फस्ने देखिएपछि सेटिङमा उनीहरुलाई जोगाउन सरकारनै लागेको उहाँले बताउनुभयो । अध्यक्ष ओलीले बर्तमान सरकार हल्लाको भरमा मात्रै टिकेको भन्दै जनजिविकाका सवालमा असफल भएको दावी गर्नुभयो ।

अध्यक्ष ओलीले बर्तमान सरकारबाट आफ्नो पालामा शुरु भएका योजना समेत काट्ने काम भएको बताउनुभयो । उहाँले ३९६ वटा अस्पताल हरेक पालिकामा बनाउने गरी शिलान्यास गरिएपनि वर्तमान गठबन्धन सरकारले ती काम अलपत्र पारेको आरोप लगाउनुभयो ।

उहाँले यो गठबन्धन सरकारले अहिलेसम्म कुनै गतिलो काम नगरेको बताउनु भयो । अहिले मुलुक गम्भीर मोडमा रहेको बताउँदै उहाँले स्वाधीनता र स्वतन्त्रता कमजोर हुँदा तिनको संरक्षण गर्न नसकिएको बताउनु भयो । सरकारले गलत काममा संलग्नहरूलाई पनि कारबाही गर्न नसकेको ओलीको भनाइ थियो ।

आफ्नो कार्यकालमा गरेका कामलाई अहिलेको सरकारले निरन्तरता नदिएको उहाँले बताउनु भयो । विदेश जाने युवाहरूलाई रोक्न नसक्नु विडम्बना रहेको उहाँले बताउनु भयो । जिल्ला अधिवेशनको सन्दर्भमा ओलीले सक्षम र योग्य व्यक्तिले नेतृत्व गर्नुपर्ने धारणा राख्नुभयो । अध्यक्ष ओलीले जिल्लालाई आगामी दिनमा हाँक्नको लागि उम्मेदवार ल्याउन सुझाव दिनुभयो ।

उहाँले सर्वसम्मतबाट नेतृत्व चयन नभए लोकतान्त्रिक विधि अपनाउन सुझाव दिनुभएको थियो । ‘सर्वसम्मतिले होस् या लोकतान्त्रिक विधिबाट नेतृत्वले सबै लाई मिलाएर एकताबद्ध बनाएर सिङ्गो नेकपा एमाले उदाहरणीय रूपले अगाडि बढ्ने उहाँले अपेक्षा लिनुभयो। उहाँले जिल्ला अधिवेशनमा गुटबन्दी नगर्नसमेत नेता कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो ।

एमाले कैलालीको नयाँ नेतृत्वका लागी ३ जना अध्यक्ष र ४ दर्जन बढीले पदाधिकारीमा दावी गरेका छन् । सोमबार बिहानै बन्दसत्र शुरु हुने छ । बन्दसत्रबाट सहमती नजुटे सोमबारनै निर्वाचन प्रकृयाबाट नयाँ नेतृत्व चयन गरिने जनाइएको छ ।