एसीसी महिला प्रिमियर कपमा नेपालको यात्रा सकियो, फाइनलमा युएई र मलेसिया भिड्ने।

क्वालालम्पुर := नेपाल एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा मलेसियासँग पराजित भएको छ । शुक्रबार सम्पन्न सेमिफाइनलमा मलेसियाले नेपाललाई ४ विकेटले पराजित गरेको हो।

नेपालले दिएको ११६ रनको लक्ष्य पछाएको मलेसियाले १९.५ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो। मलेसियालाई जिताउने क्रममा ब्याटर एल्सा हन्टरले अविजित ६९ रन बनाएकी थिइन् । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै ११५ रन बनाएको थियो।

नेपालका लागि कप्तान इन्दु बर्माले सर्बाधिक २९ रन बनाएकी थिइन् भने कविता कुँवरले २३, रुबिना क्षेत्रीले २०, सिता राना मगरले ६, डोली भट्टले २५ र कविता जोशीले २ रन बनाएकी थिइन्।

यो जितसंगै आयोजक मलेसियाले प्रतियोगिताको फाइनलमा युएईसँग खेल्ने छ । शुक्रवारको खेल जितेको मलेसियाली टोली एसिया कपमा छनोट भएको छ । एसिया कपमा कूल ६ टोली खेल्नेछन्।

तीमध्ये एउटा समूहमा भारत पाकिस्तान र बंगलादेश छन्। अर्को समूहमा श्रीलंका र आज भएका दुई सेमिफाइनलका विजेता टोलीहरु युएइ र मलेसिया हुनेछन् । महिला एसिया कप आगामी सेप्टेम्बरमा हुनेछ।