काठमाडौं := नेपाल एसिसी महिला प्रिमियर कप २०२४ को सेमिफाइनलमा पुगेको छ । बुधबार मलेसियाको बांगीमा भएको क्वाटरफाइनलमा कुवेतलाई ८ विकेटले पराजित गर्दै नेपाल अन्तिम चारमा स्थान पक्का गरेको हो । नेपालले अब सेमिफाइनलमा घरेलु टोली मलेसियाको सामना गर्नेछ ।
वर्षाका कारण प्रभावित खेलमा नेपालले १२ ओभरमा ५० रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य नेपालले ६.५ ओभरमा पूरा गर्यो । त्यसअघि कुवेतले २० ओभरमा ९ विकेट गुमाएर ७३ रन जोडेको थियो । नेपालका लागि सीता रानामगरले १७ रन जोड्नुभयो । त्यस्तै, कप्तान इन्दु बर्माले २१ बलमा २२ रन जोड्नुभयो । कविता कुँवर १ रनमा रनआउट हुँदा कविता जोशीले एक बल खेल्दै चौका प्रहार गर्नुभयो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले १२ ओभरमा सबै विकेट गुमाएर ५० रन जोड्यो । नेपालका लागि सीता रानामगरले ४ ओभरमा ११ रन दिँदै हृयाट्रिक गर्नुभयो । सीताले १३औँ ओभरमा हृयाट्रिक लिनुभएको थियो ।
उहाँले १३औँ ओभरको दोस्रो बलमा ओपनर प्रियादा मुरलीलाई ३३ बलमा २९ रन बनाउँदा आउट गर्नुभयो । तेस्रो बलमा मर्यम ओमार काजल श्रेष्ठद्वारा स्टम्प आउट हुनुभयो । यस्तै, चौथो बलमा कुवेतकी कप्तान अम्ना शरीफलाई पवेलियन फर्काउँदै सीताले हृयाट्रिक लिनुभयो ।
यस्तै, रुबिना क्षेत्रीले ४ ओभरमा १० रन दिँदै २ विकेट लिँदा कविता कुँवरले ४ ओभरमा ९ रन दिएर २ विकेट नै लिनुभयो । कुवेतका लागि शान्थी बलासुब्रमनियन र खादिजा खलिलले समान १३-१३ रन बनाउनुभयो । अन्य ब्याटरले दोहोरो अंक पनि बनाउन सकेनन् ।
प्लेयर अफ द म्याच घोषित सीता रानामगरले खेलपछि बोल्दै आफ्नो प्लेयर अफ द म्याच अवार्ड श्रीमान्लाई समर्पण गरेको बताउनुभयो । ‘आजको यो अवार्ड मेरो श्रीमान्लाई समर्पण गर्न चाहन्छु । साथसाथै हृयाप्पी भ्यालेन्टाइन डे पनि भन्न चाहन्छु,’ सीताले भन्नुभयो ।
नेपालले समूह चरणमा हङकङ, भुटान र माल्दिभ्समाथि जित निकालेको थियो । सेमिफाइनलमा नेपाल र मलेसिया भिड्दा अर्को सेमिफाइनलमा युएई र थाइल्याण्ड खेल्दैछन् । फाइनल पुग्ने दुई टोलीले एसिया कप खेल्नेछन् । एसिया कप २०२४ सेप्टेम्बरमा हुनेछ ।