चलचित्र ‘बोक्सीको घर’ वैशाखमा प्रदर्शनमा आउने।

काठमाडौं:= चलचित्र ‘बोक्सीको घर’ वैशाखमा प्रदर्शनमा आउने भएको छ । अभिनेत्री केकी अधिकारीको अभिनय तथा निर्माण रहेको यो चलचित्र आगामी वर्षको वैशाख १४ गतेदेखि सिनेमाघरमा आउने भएको हो ।

केकीकै होम प्रोडक्सनमा निर्माण भएको यो चलचित्र आठ वर्षअघि मञ्चन भएको चर्चित नाटक ‘बोक्सीको घर’माथि रहेर बनेको हो । नाटककै लेखक एवं निर्देशक सुलक्षण भारतीले चलचित्र पनि निर्देशन गर्नुभएको छ ।

चलचित्रमा केकीसँगै सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सविन बास्तोलालगायतको अभिनय छ । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर चलचित्र बनेको छ ।

नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनमा आउने यो चलचित्र केही अन्तर्राष्ट्रिय फेष्टिभलमा समेत लैजाने योजना रहेको केकीले बताउनुभयो । कार्यकारी निर्माता राजकुमार घिमिरे रहेको चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, लोकेश बज्राचायको सम्पादन छ ।