माल्दिभ्सले इतिहासमा पहिलोपटक सन् २०२४ मा २० लाख पर्यटक भित्र्याउने

माले:= माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले माल्दिभ्सको पर्यटन उद्योगको स्थापनापछि माल्दिभ्सको इतिहासमा पहिलोपटक सन् २०२४ मा २० लाख पर्यटक भित्र्याउनसक्ने बताउनुभएको छ । मुइज्जुले सोमबार जारी १९औं संसद्को अन्तिम अधिवेशनको उद्घाटन बैठकमा राष्ट्रपतिका रूपमा आफ्नो पहिलो सम्बोधनमा उक्त कुरा बताउनुभएको हो ।

राष्ट्रपति मुइज्जुले वेलाना अन्तर्राष्ट्रिय विमानस्थल (भिआइए) को विस्तारले वर्षको मध्यसम्ममा औसतमा १०.३ प्रतिशतले पर्यटक आगमनमा वृद्धि हुने बताउनुभयो । मालदिभ्स सरकारले यसवर्ष २० वटा नयाँ रिसोर्ट खोल्न चाहेको र ती रिसोर्टले दुई हजार ८२७ बेड निर्माण गर्ने बताउनुभयो ।

विभिन्न कारणले रोकिएका टापु, जग्गा प्लटिङ र तालको विकासका लागि अवरोधको पहिचान गरी सम्भावित समाधानको खोजी भइरहेको राष्ट्रपति मुइज्जुलले बताउनुभयो । माल्दिभ्सको आधिकारिक तथ्यांक अनुसार सन् २०२३मा माल्दिभ्समा १८ लाखभन्दा बढी विदेशी पर्यटक आएका छन् ।

माल्दिभ्सको पर्यटन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार माल्दिभ्समा यसवर्षको जनवरीमा एक लाख ९२ हजारभन्दा बढी पर्यटक भित्रिएका छन्, जुन गतवर्षको सोही अवधिको तुलनामा ११.५ प्रतिशतले बढी हो । रासस/सिन्हृवा ।