काठमाडौं:= क्रिकेट खेल्न नेपाल आउन लागेको क्यानेडियन क्रिकेट टोलीको गैरआवासीय नेपाली संघ(एनआरएनए)को क्यानडा च्याप्टरले बिदाइ गरेको छ।
नेपाली क्रिकेट टोलीसँग सिरिज खेल्न नेपाल आउन लागेको टोलीलाई कार्यक्रममा एनआरएनए क्यानडाका उपाध्यक्ष फिरोज श्रेष्ठ, महासचिव चन्द्रा अधिकारी लगायतले खेलाडीहरूको बिदाइ गर्नुभएको थियो ।
कार्यक्रममा स्थानीय सांसद मनिन्दर सिंह तथा क्यानेडियन क्रिकेट काउन्सिलका सदस्यहरूको पनि उपस्थिति थियो । बिदाइ कार्यक्रमपछि क्यानडाका प्रशिक्षक पुबुदु दासानायकेले नेपाली समुदायलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीको पनि प्रशिक्षक रहिसक्नुभएका दासानायकेले नेपाल आफ्नो दोस्रो घरजस्तै भएको प्रतिक्रिया दिनुभयो । एनआरएनएका सदस्यहरूले क्यानेडियन क्रिकेट टोलीलाई ढाका टोपी र खादा लगाउँदै बिदाइ गर्नुभएको थियो ।
कार्यक्रमले दुवै देशको सम्बन्ध अझै सुदृढ बन्न सहयोग पुगेको एनआरएनए क्यानडाका अध्यक्ष माधव दुलालले बताउनुभयो ।




















