एजेन्सी := मिस युनिभर्स २०२४ को अन्तिम प्रतिस्पर्धा आगामी सेप्टेम्बर २८ मा हुने भएको छ । मेक्सिकोमा हुने अन्तिम प्रतिस्पर्धामा नेपालको पनि सहभागिता रहनेछ । नेपालको प्रतिनिधित्व गर्ने प्रतिस्पर्धी को हुनेछ, त्यो भने हालसम्म छनोट भइसकेको छैन ।
मिस युनिभर्स नेपालले छनोट गरेर प्रतिस्पर्धी पठाउनेछ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा यसका बारेमा जानकारी गराइएको हो। यसका लागि मिस युनिभर्सले केही समयपछि अडिसनका लागि आवेदन खोल्ने जनाएको छ । यसपटक मिस युनिभर्स नयाँ आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले छनोट गर्नेछ ।
यसपटक आयोजक फेरिएको हो। द हिडन ट्रेजर र उमंग क्रिएसनपछि ग्लोबल ग्ल्यामर भेन्चरले मिस युनिभर्स आयोजना गर्न लागेको हो । पत्रकार सम्मेलनमा ग्लोबल ग्ल्यामर भेन्चरले यसपटकदेखि आफूले मिस युनिभर्स आयोजना गर्ने जानकारी दिएको थियो ।
मिस युनिभर्स नेपाल-२०२४ को निर्देशकमा संगीता पुरी, अध्यक्षमा आलोक क्षेत्री र सिइओमा सबी पुरी हुनुहुन्छ । निर्देशक पुरीले पुरानै मापदण्डअनुसार प्रतियोगिता आयोजना हुने जानकारी दिनुभयो ।
मिस युनिभर्स नेपालको टिमको सदस्यका रूपमा पत्रकार सम्मेलनमा मिस युनिभर्सल वुमिन-२०२३ की विजेता भ्यालेन्टिना सान्चेज ट्रिभेल्ला र कोच अलेक्जेण्डर गोन्जालेज पनि सहभागी हुनुहुन्थ्यो ।




















