काठमाडौं:= आज ३०२औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदैछ। ३०२औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितिले विशेष कार्यक्रम गरेर पृथ्वी जयन्ती मनाउँदै छ।
१७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा मान्ने गरिन्छ। शाहले त्यसबेला बाइसे, चौविसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गरेका थिए। यही योगदानको कदर गर्दै पुस २७ लाई पृथ्वी जयन्तीका रुपमा मनाउने गरिएको छ।
सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०२औँ जन्मजयन्ती मनाइँदैछ।
भौगोलिक रूपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ। यद्यपि, उनको आलोचना पनि उत्तिकै हुने गरेको छ । आलोचकहरुले एकल जाति–नश्ल, एकल संस्कृति, एकल धर्म र सम्प्रदायको वर्चस्व स्थापित गरेको भन्दै उनी राष्ट्र निर्माता नभएको तर्क गर्ने गरेका छन्।
यस वर्ष पृथ्वी जयन्तीको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। यस वर्ष पनि राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले विविध कार्यक्रम गरी पृथ्वी जयन्ती मनाउँदै छन् ।




















