तेहरान:= चार वर्षअघि अमेरिकाको ड्रोन आक्रमणले हत्या गरिएका जनरल कासिम सुलेमानीको वार्षिक स्मृतिमा आयोजित भीडमा लगातार दुई वटा विस्फोट हुँदा इरानमा बुधबार कम्तीमा एक सय तीन जनाको मारिएको सरकारी मिडियाले बताएको छ ।
आक्रमणको जिम्मेवारी तत्काल कसैले लिएको छैन । आधिकारिक आइआरएनए समाचार एजेन्सीले यसअघि ७३ जनाको मृत्यु भएको सूचना दिएको थियो । एजेन्सीले भनेको छ, “आतङ्कवादी विस्फोटमा घाइते भएका मानिसको मृत्यु भएपछि मर्नेहरूको सङ्ख्या बढेर १ सय ३ पुगेको छ ।” बम विस्फोटमा अन्य १ सय ४१ जना घाइते भएको र केहीको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
सरकारी टेलिभिजनले उक्त विस्फोटलाई ‘आतंकवादी हमला’ भनेको छ । इरानको सहयोगी हमासका दुई नम्बरका नेता सालेह अल–अरुरी बेरुतमा ड्रोन हमलामा मारिएको एक दिनपछि इरानमा उक्त विस्फोट भएको हो। लेबनानी अधिकारीहरूले बेरुतमा भएको ड्रोन हमला इजराइलले गराएको आरोप लगाएका छन् ।
एजेन्सीको सहयोगमा




















