इङ्लिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी र चेल्सी विजयी।

एजेन्सी := इङ्लिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले एभर्टनलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले एभर्टनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।

म्यानचेस्टर सिटीले यस खेलको पहिलो हाफमा १-० गोलले पछि परेको अवस्थामा दोस्रो हाफमा कमब्याक गर्दै जित हासिल गरेको थियो।

म्यानचेस्टर सिटीका लागि फिल फोडेन, जुलियन अल्भारेज र बेर्नार्डो सिल्भाले एक एक गोल गरेका थिए। त्यस्तै एभर्टनका लागि ज्याक हारिसनले एक गोल गरेका थिए।

प्रिमियर लिगकै अर्को खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई २–१ ले हरायो । चेल्सीका जितमा मिखाइलो मुड्रिकले पहिलो गोल गरे भने नोनी माडुकेले पेनाल्टीमार्फत दोस्रो तथा निर्णायक गोल गरे ।

यसबिचमा प्यालेसका ओलिसेले एक गोल गरेका थिए । गएराति भएको अर्को खेलमा वुल्भरह्याम्प्टन वान्डरर्सले ब्रेन्टफोर्डलाई ४–१ ले हरायो ।

बुधबार रातिका खेलपछि प्रिमियर लिगको अंक तालिकामा १९ खेलबाट ४२ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा रहँदा एक खेल कम खेलेको आर्सनल ४० अंकसहित दोस्रोमा छ ।

तेस्रो स्थानको एस्टन भिल्लाको ३९ अंक छ भने ३७ अंकसहित म्यान्चेस्टर सिटी चौथो स्थानमा उक्लिएको छ । २५ अंक मात्रै जोडेको चेल्सी तालिकाको दशौं स्थानमा छ ।