काठमाडौं := उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा छाड्न आदेश दिएको छ । खाँणलाई थुनामा पठाउनुपर्ने भनी जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गरी उच्च अदालतले धरौटीमा छाड्न आदेश गरेको हो ।
यसअघि दुई न्यायाधीशहरुबीच राय बाझिएको अवस्थामा आज न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएकाे हो ।
आदेशमा भनिएको छ, “बालकृष्ण खाणबाट मुलुकी फौजदारी कार्यविधि संहिता २०४७ को दफा ६८ र ७२ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट २०८०/८/१ मा थुनामा राखी पुर्पक्ष गर्ने गरी भएको आदेशलाई बेरितको देखिँदा बदर गरी रु तीस लाख धरौटी, जमानत वा बैंक जमानत दिई/लिई तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्ने गरी मिति २०८०/०८/१५ मा भएको रायमा सहमतिको राय कायम गरिदिएको छ ।”
मंसिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएपछि आज तेस्रो न्यायाधीशको इजलासमा सुनुवाइ भएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहनुभएका पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणको निवेदनमाथि आज सुनुवाइ भएकाे थियाे ।
उच्च अदालत पाटनले तेस्रो न्यायाधीशसमक्ष सुनुवाइका लागि मंसिर २८ गतेको पेसी तोकेको थियाे। मंसीर १५ गतेको संयुक्त इजलासको आदेशमा न्यायाधीश पाण्डेले ३० लाख धरौटीमा रिहा हुने आदेश गर्नुभएको थियो भने अर्का न्यायाधीश खरेलले थुनामै राख्नुपर्ने आदेश राख्नुभएको थियो ।
मंसिर १५ गते शुक्रबार भएको आदेशमा उच्च अदालत पाटनले नौ जना प्रतिवादीको हकमा थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई सदर गरेको थियो । त्यसैगरी ६ जना प्रतिवादीको हकमा थुनामै राख्ने काठमाडौं जिल्ला अदालतको आदेश बदर गरी धरौटी माग गर्ने आदेश दिएको थियो । त्यसैगरी, लक्ष्मी महर्जन, आशिष बुढाथोकी, टंक कुमार गुरुङ र केशव तुलाधरलाई साधारण तारेखमै रिहा गर्ने आदेश दिएको थियो ।




















