काठमाडौं:= यही २९ मंसिरदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘दुई कदम’को ट्रेलर सार्वजनिक गरिएको छ । उदय सुब्बा निर्देशित यो चलचित्रको बुधबार राजधानीमा आयोजित एक कार्यक्रमबीच दुई मिनेट तीन सेकेण्ड लामो ट्रेलर सर्वाजनिक गरिएको हो ।
सार्वजनिक ट्रेलरमा प्रेम, रोमान्ससँगै कमेडी, द्वन्द्व र लिम्बू संस्कारलाई प्रस्तुत गरिएको छ। चलचित्रमा इओन लिम्बू, सिमोन गिरी, गौरव पहारी, विमला लिम्बू, सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा, बुद्धि तामाङ, अर्जुन गुरुङ, जीवन लिम्बू, चन्दा दाहाल, प्रीतिका शर्मालगायत कलाकारको अभिनय छ । चलचित्रको मुख्य भूमिकामा रहनुभएका इओन र सिमोनको यो डेब्यु चलचित्र हो ।
विल्सन विक्रम राई, वर्षा सिवाकोटी र गीता ढुंगानाले चलचित्रको एक गीतमा नृत्य गर्नुभएको छ । अजम्बरी फिल्मस्को ब्यानरमा बनेको चलचित्रमा तारा देवी लिम्बुको लगानी छ ।
पूर्वको धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा छयांकन गरिएको चलचित्रमा विक्रम डिसीको छायांकन, दयाराम घिमिरेको कथा तथा पटकथा, ताराप्रकाश लिम्बू र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, रामजी लामिछानेको कोरियोग्राफी, राजु किरातीको द्वन्द्व निर्देशन र प्रवीन ढकालको सम्पादन छ ।




















