नेपालको एनसेल कम्पनीबाट बाहिरिने मलेसियाको आजियाटा बेर्हार्ड समूहको निर्णय।

काठमाडौं := अन्तर्राष्ट्रिय लगानीकर्ता कम्पनी मलेसियाको आजियाटा बेर्हार्डले प्राइभेट दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट बाहिरिने निर्णय गरेको छ । एनसेलबाट बाहिरिने उद्देश्यका साथ आजियाटाले यसको सम्पत्ति बिक्रीमा राखेको बुधबार जारी एक विज्ञप्तिमा उल्लेख छ ।

आजियाटाले एनसेलमा रहेको आफ्नो सेयरहरुलाई बिक्री घोषणा गरेको छ। ‘हामीलाई लागछ हाम्रो यो कदमले आफ्ना रणनैतिक प्राथमिकताहरुलाई पुरा गर्नेछन्, आजियाटाले भनेको छ,  ‘हाम्रा लगानीकर्ताहरुको दीर्घकालिन फाइदामा सहयोग पुर्याउनेछन्।’

एनसेलको आम्दानी निरन्तर खुम्चिए पछि कम्पनीले यस्तो निर्णय गरेको बताइएको छ। घाटामा गए पछि आफ्नो व्यवसाय विस्तार हुन नसकेको आम्दानी खुम्चिएकाले आजियाटाले सेयर बिक्री गर्न लागेको बताइएको छ।

सन् २०२२ मा ३९ अर्ब ७२ करोड ५० लाख रुपैयाँको कारोबार गरेको एनसेलको आम्दानी घटेको छ। सन् २०२३ मा ३७ अर्ब ४४ करोड २० लाख रुपैयाँको कारोबार भएको कम्पनीले जनाएको छ। एनसेलको कारोबार निरन्तर घट्दै गएको थियो।

सन् २०१७ मा ५७ अर्ब १० करोड २० लाख रुपैयाँको कारोबार भएको थियो। त्यसपछि क्रमश घट्दै गएपछि लगानीकर्ताले सेयर बेच्ने निर्णयमा पुगेको हो। एनसेलमा मलेसियाको आजियाटा ग्रुप बर्हार्डको ८० प्रतिशत सेयर रहेको छ भने बाँकी २० प्रतिशत सेयर सुनिभेरा क्यापिटल भेन्चर प्रालिको रहेको छ।

एनसेलको सेयर ७ वर्ष अगाडि आजिएटाले किनेको थियो । आजिएटालाई स्वीडेनको टेलिया सोनेराले सेयर बेचेको थियो ।