आतंकवादी हमलामा हमासद्वारा बन्धक बनाएर रिहा गरिएका व्यक्तिहरूको नमावली इजरायलद्वारा सार्वजनिक।

तेल अवीव:= इजरायली प्रधानमन्त्रीको कार्यालयले गत अक्टोबर ७ को आतंकवादी हमलामा हमासद्वारा बन्धक बनाएर शुक्रबार रिहा गरिएका व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ। इजरायली प्रधानमन्त्री कार्यालयले हमाससँगको सम्झौताको एक भागका रूपमा उद्धार गरिएकामध्ये ११ विदेशी नागरिक रहेको जानकारी दिएको छ ।

अमेरिका र कतारको मध्यस्थतामा भएको सम्झौता अनुसार उद्धार गरिएका २४ जना हमास बन्धकहरूको सट्टामा इजरायलले ३९ प्यालेस्टिनी बन्दीहरूलाई पनि मुक्त गरेको थियो । ‘इजरायली सरकारले घर फर्केका हाम्रा नागरिकहरूलाई स्वागत गर्छ । इजरायली सरकार सबै अपहरण र बेपत्ता व्यक्तिहरूलाई फिर्ता गर्न प्रतिबद्ध छ,’ प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘हाम्रा नागरिकहरूले प्रारम्भिक चिकित्सा परीक्षण गराएका थिए र उनीहरूका परिवारहरूलाई हाम्रा अधिकारीहरूले उनीहरू फर्केको जानकारी गराएका छन्,’ इजरायली सरकारले जनाएको छ । इजरायली प्रधानमन्त्री कार्यालयले स्वदेश फर्किएका १३ नागरिकको विवरण पनि सार्वजनिक गरेको छ ।

घर फर्किएका आशेर परिवारका तीन सदस्य डोरोन कात्ज-आशेर (३४), राज आशेर (४) र अविव आशेर (२) रहेका छन् । त्यसैगरी अलोनी परिवारका रिहा भएका दुई सदस्य ड्यानियल अलोनी (४५) र अमेलिया अलोनी (५) रहेका छन् । उद्धार गरिएका मोन्डर परिवारका रुथ मुन्डर (७८), केरेन मोन्डर (५४) र ओहद मोन्डर (९) रहनुभएको छ ।

उहाँहरूबाहेक अन्य पाँच इजरायली नागरिक अदिना मोशे (७२), हाना कात्जिर (७६), मार्गालिट मोजेस (७७), हन्ना पेरी (७९) र याफे अदार (८५) लाई पनि कैदबाट रिहाइ गरिएको थियो । रिहाइ गरिएका बन्धकलाई आफ्ना आफन्त कहाँ फर्कने क्रममा सरकारले सबैको साथ दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

यसअघि शुक्रबार इजरायली बन्धकहरूको पहिलो समूहलाई इजरायल र हमासबीचको बन्धक सम्झौताको एक भागको रूपमा रेडक्रसका लागि अन्तर्राष्ट्रिय समितिका कर्मचारीलाई सुम्पिएको इजरायलको टाइम्स अफ इजरायलले उल्लेख गरेको छ ।

इजरायल र हमासबीच कतारको मध्यस्थतामा भएको युद्धविराम शुक्रबार बिहान ७ बजे (स्थानीय समय)बाट लागू भएको थियो । शुक्रबार बन्धकहरूलाई रिहा गरेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाबाट सबै बन्धकलाई फिर्ता गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

सोशल मिडिया प्लेटफर्म (पहिले ट्विटर) मा पोस्ट गरिएको भिडियो सन्देशमा नेतान्याहुले भन्नु भएको छ, हामीले भर्खरै हाम्रा पहिलो बन्धकहरूः बालबालिका, उनीहरूका आमाहरू र महिलाहरूको फिर्ती पूरा गरेका छौं ।

त्यसैगरी अमेरिकी राष्ट्रपति जो बाइडेनले यसलाई ‘प्रक्रियाको सशुरुवात’ भन्नु भएको छ । उहाँले थप आशा व्यक्त गर्दै ‘थुप्रै बन्धकहरू’ आउँदो केही दिनमा उनीहरूको परिवारमा फर्किने बताउनु भएको छ । टाइम्स अफ इजरायलले उल्लेख गरे अनुसार प्रत्येक १० इजरायली बन्धकहरूको लागि थप एक दिन युद्धविरामको विस्तारको बदलामा हमासले थप बन्धकहरूलाई मुक्त गर्नु पर्नेछ ।

यद्यपि गत अक्टोबरदेखि हमास आतंककारीले बन्धक बनाएका २४० जनामध्ये रिहा गरिएका बन्धकहरू सानो संख्यामात्र हो । रासस/एएनआई