दक्षिण अफ्रिकालाई ३ विकेटले हराउँदै अस्ट्रेलिया ८ औँ पटक विश्वकप क्रिकेटकाे फाइनलमा

एजेन्सी:= आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा सेमिफाइनलको बिहिवार सम्पन्न भएको दोस्रो खेलमा दक्षिण अफ्रिकालाई ३ विकेटले हराउँदै अस्ट्रेलिया ८ औँ पटक आईसीसी एकदिवसीय विश्वकप क्रिकेटकाे फाइनलमा पुगेकाे छ ।

अस्ट्रेलियाको यो जीतसंगै उपाधिका लागि आगामी आईतवार हुने फाइनल खेलमा घरेलु टिम भारत र अस्ट्रेलियाबीच भिडन्त हुने भएको छ।

दक्षिण अफ्रिकाले दिएकाे २ सय १३ रनकाे लक्ष्य अस्ट्रेलियाले ४७ ओभर २ बलमा ७ विकेट गुमाएर भेटायाे । अस्ट्रेलियाका ट्राभिस हेडले सर्वाधिक ६२ रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका गेराल्ड कोट्जी र तबरेज शाम्सीले समान २ विकेट लिए ।

यसअघि काेलकाताकाे इडेन गार्डेन्समा टस जितेर ब्याटिङ गरेकाे दक्षिण अफ्रिका ४९ ओभर ४ बलमा २ सय १२ रनमा अलआउट भयाे । दक्षिण अफ्रिकाका डेभिड मिलरले शतक बनाए । उनी १ सय १६ बलमा १ सय १ रन बनाएर आउट भए । यस्तै हेनरिच क्लासेनले ४७ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्क र प्याट कमिन्सले समान ३ विकेट लिए ।

अस्ट्रेलिया यसअघि सन् १९७५, १९८७, १९९६, १९९९, २००३, २००७ र २०१५ मा फाइनलमा पुग्दा ५ पटक विजेता बनेकाे थियाे । अस्ट्रेलिया १९८७, १९९९, २००३, २००७ र २०१५ काे विजेता हाे ।