अबैध बाटोबाट अमेरिका छिरेका एक नेपालीको अध्यागमन हिरासतमा मृत्यु।

वासिंगटन डिसी:= अबैध बाटोबाट अमेरिका छिरेका एक नेपाली युवाको अमेरिकी हिरासतमा मृत्यु भएको छ । ३४ बर्षीय सुवास श्रेष्ठ नाम गरेका नेपाली नागरिकको टेक्सासस्थित र्कोस सिटी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा नोभेम्बर १३ का दिन सोमबार मृत्यु भएको हो ।

उनी अमेरिकाको अध्यागमन तथा भन्सा विभाग (आईसीई) को हिरासतमा थिए । बन्दीगृहभित्र बसेका उनको हलचलसमेत थाहा नपाएपछि उनलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराइएको र सो क्रममै उनलाई मृत घोषित गरिएको थियो ।

उनको मृत्युको कारण खुलेको छैन । मृत्युको कारण पत्ता लगाउन शव परिक्षण र त्यसको रिपोर्ट आउन बांकी रहेको आईसीईले नोभेम्बर १४ मा जारी गरेको सूचनामा जनाएको छ ।

सडकमार्गबाट अवैध तरिकाले श्रेष्ठ दुई महिना ११ दिनअघि अमेरिका छिरेका थिए । उनी सेप्टेम्बर २, २०२३ मा अमेरिकाको एरिजोनास्थित लुकभिल आसपास क्षेत्रबाट अमेरिका छिरेपछि पक्राउ परेका थिए।

उनी कुनै आधिकारिक कागजात विना नै अमेरिका प्रवेश गरेकाले अमेरिकी सीमा गस्ती युएसवीपीले पक्राउ गरेको थियो । उनलाई अमेरिकी अध्यागमन र राष्ट्रियतासम्बन्धी कानुनको धारा २१२(ए),(७) (ए) (आई) विपरीत अमेरिका प्रवेश गरेको आरोपमा पक्राउ गरी तत्काल फर्काउने आदेशसमेत दिएको थियो ।

बन्दी अवस्थामै स्वदेश फिर्ता गराउने आदेश पाएकाले उनलाई एरिजोनाबाट टेक्सासस्थित कार्नेस सिटीको इमिग्रेसन प्रोसेसिङ सेन्टरमा सारिएको थियो । उनलाई सेप्टेम्बर ९ मा टेक्सासस्थित सो हिरासतमा पुर्याइएको आईसीईको आधिकारिक वेभसाइटमा प्रकाशित जानकारीमा उल्लेख छ ।

उनको नेपालस्थित ठेगाना र परिवार तथा नातेदारहरुबारे केही खुलेको छैन । तर, अमेरिकी अध्यागमनले उनको मृत्युबारे वासिंगटनडिसी स्थित नेपाली दूतावासलाई खवर गरिसकेको जानकारी सार्वजानिक गरेको छ ।