काठमाडौं := नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) कार्यान्वयन सुरु गरेको छ । सोही क्रममा प्राधिकरणले गत महिना एक सूचना जारी गर्दै १५ दिनभित्र एमडिएमएसमा दर्ता नभएका फोन दर्ता गर्न आग्रह गरेको थियो ।
१५ दिनभित्र एमडिएमएस प्रणालीमा दर्ता नभएमा उक्त मोबाइल हृयान्डसेटमा नियमानुसार मोबाइल दूरसञ्चार सेवा अवरुद्ध हुने प्राधिकरणले चेतावनीसमेत दिएको छ। प्राधिकरणले हालै नेपाल भित्रिएको आइफोन १५ सिरिजकै हजारौँ फोन एमडिएमएसमा दर्ताबिना नै चलिरहेको बताएको जनाएको छ ।
पछिल्ला आइफोन र अन्य एन्ड्रोइड फोन ब्लक गर्ने तयारी भइरहेको पनि प्राधिकरणले उल्लेख गरेको छ ।प्राधिकरणका निर्देशक सुरेन्द्रलाल हाडाका अनुसार करिब दुई हजार आइफोन १५ एमडिएमएसमा दर्ताबिना नै सञ्चालन भएका छन् ।
पटक–पटक दर्ताका लागि ताकेता गर्दासमेत दर्ता भएका छैनन् । भन्सार पास भएर आउने सबै फोनको आइएमइआई नम्बर एमडिएमएसमा दर्ता भएको हुन्छ । विदेशबाट आउनेले ल्याएका फोन दर्ता गर्न पनि सरकारले व्यवस्था गरेको छ ।
अन्य कालोबजारीबाट भित्रिने फोन एमडिएमएसमा दर्ता नहुने समस्या रहेको छ । केही दिनमै दर्ता नभएका आइफोन १५ ब्लक हुने र त्यसपछि अन्य नयाँ फोन पनि ब्लक गर्ने प्राधिकरणको तयारी छ । प्राधिकरणका अनुसार एमडिएमएसमा दर्ता नभएका करिब ५० लाख फोन सञ्चालनमा छन् ।




















