काठमाडौं := श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपालीहरुको संख्या उल्लेख्य भएका देशहरुमा तत्काल राजदूतावास खोल्नुपर्ने अवस्था रहेको बताउनुभएको छ । बिहीवार मन्त्रालयमा पत्रकारहरु सँग भेटघाट गर्दै मन्त्री भण्डारीले नेपालीहरुको संख्या उल्लेख्य मात्रामा रहेका विभिन्न देशहरुमा तत्काल राजदुतावास खोल्नुपर्ने अवस्था रहेको बताउनुभएको हो ।
उहाँले ति मुलुकहरुमा सरकारको उपस्थिति अनिवार्य गर्नुपर्ने कुरा सरकारलाई महशुस भएको बताउनु भयो। उहाँले तत्काल दुतावास खोल्ने अवस्था नभएमा ड्राइपोस्टिङ सिस्टमबाट भएपनि सरकारको उपस्थिति दर्ज गर्ने निर्णय भएको पनि बताउनु भयो । त्यस्तै विद्यमान दुतावासहरुको साधन, स्रोत बढाउनका लागि पनि सरकार लागि परेको उहाँले बताउनुभयो ।
उहाँले अप्ठ्यारो परेको अवस्थामा दुतावाससँग उद्धार गर्ने सामथ्र्य नरहेकाले अहिले त्यसको लागि कोषको व्यवस्था गरिएको पनि जानकारी गराउनु भयो । उहाँले भन्नुभयो – ‘विभिन्न मुलुकमा जहाँ नेपालीहरुको संख्या उल्लेख्य छ । जहाँ हाम्रो उपस्थिति अनिवार्य छ । त्यस्ता मुलुकहरुमा तत्काल राजदुतावास खोल्नुपर्ने अवस्था छ।
यदि दुतावास खोल्न सक्ने अवस्था भएन भनेपनि ड्राइपोस्टिङको सिस्टमबाट हाम्रो उपस्थिति दर्ज गर्छौ भन्ने निर्णय गरेका छौँ । ड्राइपोस्टिङमा के हुन्छ भने, परराष्ट्र मन्त्रालयको उपसचिव तहको मान्छे, श्रम मन्त्रालयको एउटा अधिकृत र लोकल स्टाफ तिन जनाको सम्पर्क कार्यालय जस्तो हुन्छ त्यहाँ । त्यसले त्यहाँ श्रम स्वीकृति, श्रमका विभिन्न समस्याहरु, पासपोर्टका समस्याहरुको कुरा त्यहाँ हुनछ । त्यसको म्यापिङ गरिरहेका छौँ कहाँ श्रम सहचारी राख्ने, कहाँ ड्राइपोस्टिङ गर्ने भन्ने कुरा गरिरहेका छौँ ।
सेवा प्रभाव भइरहेका विभिन्न दुतावासहरुमा साधन, स्रोतको कमीले गर्दा समस्याहरु भइरहेको छ । मलेसिया, खाडि मुलुक, जापान र कोरिया लगायतका दुतावासहरुमा केही जनशक्ति राख्न २० जनाको दरबन्दी कायम गरेका छौँ । स्थानीय स्टाफ राख्ने भनेको छौँ । दुतावासले तत्काल उद्धार गर्ने सामथ्र्य नभएको हुनाले अप्ठ्यारो परेको छ उद्धार कार्यमा । उनीहरुको लागि एउटा फन्डको व्यवस्था गरिदिएका छौँ । सेल्टरहरुमा पनि थप रकमको व्यवस्था गरिदिएका छौँ ।’
मन्त्री भण्डारीले राष्ट्रिय आप्रवासन नीति बनाउनका लागि सरकारले विज्ञहरुको समुह बनाएर काम गरिरहेको पनि बताउनु भयो ।




















