काठमाडौं := टेलिभिजन रियालिटी शो ‘द डान्स योद्धा : ब्याटल अफ मुभ्स’को घोषणा गरिएको छ । तीन चरणमा विभाजन गरिएको शोको बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच औपचारिक घोषणा गरिएको हो ।
शुभम् भुजेलले यो शोको निर्देशन गरिरहनुभएको छ । निर्देशक भुजेलका अनुसार अहिले शोको पहिलो चरणको काम डिजिटल अडिसन लिने काम भइरहेको छ । मंसिर पहिलो हप्तापछि यो रियालिटी शोको सेमिफाइनल राउण्डको सुरुवात हुनेछ । यही राउण्डबाट शो टेलिभिजनमा समेत प्रसारण हुनेछ ।
शोको निर्णायक मण्डलमा कोरियोग्राफर गम्भीर विष्ट, अभिनेत्री वर्षा राउत र वाइल्ड रिपर्ज क्र्युका सुरेन राई रहनुभएको छ । निर्णायक मण्डलका संयोजक विष्टले पहिलोपटक नेपालमा केही फरक अनि भोटिङ सिस्टमबिना नै विजेता घोषणा गर्नुपर्ने भएकाले निकै चुनौती रहेको जिकिर गर्नुभयो ।
अभिनेत्री राउतले आफू नृत्यका विषयमा धेरै कुरा सिक्दै र सिकाउँदै जाने भएकाले यो शोको निर्णायक बन्ने चुनौती स्विकार गरेको बताउनुभयो । यस्तै, भारतीय टेलिभिजन रियालिटी शो डान्स प्लस सिजन २ का फस्ट रनर अपसमेत रहेकाले आफूले त्यहाँ सिकेका धेरै कुरा यो शोको निर्णायक हुँदा लागू गर्ने बताउनुभयो ।
सिने इभेन्ट स्टुडियो प्रालिको ब्यानरबाट निर्माण हुने रियालिटी शोको म्यानेजमेन्ट टिममा सौगात बराल, रिया श्रेष्ठ र सौगात दंगाल, डिजाइनरमा रिसभ पोखरेल, डिजिटल मार्केटिङमा दर्शन कोइराला तथा प्रमोसन संयोजकमा प्रोजेक्ट हेड मानव शिवाकोटी आफैं रहनुभएको छ ।




















