यमोसा कस्तो पर्व हो ?
थारु समुदाय साँस्कृतिक सम्पदाले भरिपूर्ण भएको समुदायले वर्षभरिमा दर्जनौं चाडपर्व मनाउँछन् । हरेक पर्वहरुको आफ्नै विशेषता र आफ्नै महत्व हुन्छ । ती चाडपर्वहरु मध्ये ‘यमोसा’ पर्व पनि एक हो । यमोसा पर्व चितवन र नवलपुरका थारु समुदायले मात्र मनाउने एउटा महत्वपूर्ण चाड हो ।
यस चाडमा थारु समुदायका सम्पूर्ण व्यक्तिहरुले पितृलाई तर्पण गर्ने गर्दछन् र उक्त दिन औंसी पर्ने भएकोले यस पर्वलाई पितृआंैसी पनि भनिन्छ । यो पर्व असोज महिनाको औंसीको दिन पर्दछ । दशैंको घटस्थापनाको ठीक अघिल्लो दिनलाई यमोसा भनिन्छ । वर्षभरिमा यदि परिवारमा कुनै सदस्यको मृत्यु भएको छ भने यमोसाकै दिनमा बरखी समापन गर्ने गरिन्छ ।
यमोसा पर्व कसरी मानाइन्छ ?
‘यमोसा’ पर्व चितवन र नवलपुरका थारु समुदायले दुई दिनसम्म धुमधामपूर्वक मनाउँछन् । यमोसाको अघिल्लो दिनलाई मछुवारी (माछा मार्ने) भनिन्छ । त्यस दिन व्यक्तिगत वा सामूहिक रुपमा खोलानाला, नदी, ताल, पोखरी आदिमा माछा मार्ने र गाउँघरमा खसीबोका काट्ने चलन छ । दोश्रो दिन अर्थात् यमोसाको दिन बिहानै पुरुषहरु आफूले देखेका दाभी (सिरु) काटी ल्याउँछन् । त्यसलाई केलाएर करीब एक हात लामो कुचो बनाउँछन् । त्यसलाई धोई पखालेर घर अगाडि गाईको गोबरले लिपपोग गरी पिर्का वा कुर्सीमा उक्त सिरुको मुठा राखी पितृ स्थापना (पहुनी बेठोइ) गरिन्छ ।
पहुनीलाई विभिन्न थरीका फूलहरुले सिंगारिन्छ । घाम नलागोस् भनी छाता वा छतिया ओढाइन्छ । पहुनीको अगाडि ल्वाङ, सुकमेल, पान, सुपारी, सुर्ती, चुरोट, रक्सी र पानी राखिन्छ । त्यस दिन बिहानै बालबच्चादेखि बुढाबुढी सबैजना नुहाई कुशपानीले पितृगणलाई तर्पण गरिन्छ । त्यसपछि गच्छेअनुसार नयाँ कपडा वा सफा कपडा लगाएर पहुनीको अगाडि बसेर प्रत्येकले रक्सी र पानीको केही थोपा चढाउने (छाकी चढोई) गरिन्छ । यदि त्यसवर्षमा परिवारका कुनै सदस्यको मृत्यु भएको छ भने यमोसाकै दिन बोका काटेर रगत चढाउने गरिन्छ ।
छाकी चढाईसकेपछि मात्र खानपिन शुरु हुन्छ । सर्वप्रथम छोरी, ज्वाइँ वा कुनै पाहुना बोलाई खातिरदारीकासाथ चौरासी व्यञ्जन खुवाइन्छ । यसरी पाहुनालाई खुवाउनुलाई ‘पितरी बेठोई’ भनिन्छ । पाहुनालाई खुवाइसकेपछि मात्र आफूले खाने गरिन्छ । खानपिनपछि पाहुनाको कपालमा तेल लगाई काइँयोले कोरीदिने र फूल सिउरीदिने गरिन्छ । त्यसपछि नाङ्लो वा बेनामा पानी राखी पाहुनालाई छम्केर शितलता प्रदान गरिन्छ । त्यसलाई ‘पित्पित्रायन विद्हरई’ भनिन्छ । उक्त दिन घरमा जो कोही आए पनि पाहुना नै भनिन्छ र पाहुनालाई खुवाएरै पठाइन्छ । यमोसाको दिन पाहुनालाई पितृगणको रुपमा हेरिन्छ । यसरी खानपिन दिनभरि नै चलिरहन्छ । उता गाउँका सबैजना एकैठाउँमा भेला भई पिङ खेलेर (बरहा झुलके) रमाइलो गरिन्छ । पहिले पहिले एउटै रुखमा पाँच छ वटा पिङ लगाइन्थ्यो । यता केटाहरुले साँझपख गाउँको बाटोमा ‘म्वार्हा’ गाड्छन् र ठूलाबडाले त्यसलाई उखेल्ने प्रयास गर्छन् ।
बेलुकीपख बालबालिका तथा केटाकेटीहरु समूह समूहमा मिलेर घर–घरमा ‘यमोसा’ खान जान्छन् । हरेक घरमा विभिन्न किसिमका अनेकौं परम्परागत गीत गाउँदै यमोसा खान्छन् । उनीहरुले गाउने केही गीतहरुका अंश यसप्रकारका छन्–
गीत नं. १ डौली डौली मोदवा देले दबकाई
बौरी बौरी मोदवा देले निसकाई
मोदहर्नी घुघल बाजे ……
गीत नं. २ भन्साक लकर–तकर मजीघर छमाकरी,
कते गेल मैनामोती भात रचे याउरी, भात रचे याउरी ……
गीत नं. ३ पाता परैये गेल, भात परैये गेल,
दाली परैये गेल, मासु परैये गेल,
यौर परल गजमोती जेबहुँ सभरे,
गोतियवा–गोतिनिया मन चितलाई……….
यी मौलिक थारु लोक गीतहरु, ती म्वार्हा र बरहाहरु, पितरी र पित्पित्रायनहरु, ती पहुनी र छाकी सबै लोप हुन थालेको छ । चितवन र नवलपरासी दुई जिल्लामा थारुको जनसंख्या करीब २ लाख हाराहारीमा छ । तर यो ठूलो जनसंख्याका साँस्कृतिक पर्वहरुलाई नेपाल सरकारको साँस्कृतिक नीति तथा कार्यक्रमले अझै मान्यता दिन सकेको छैन ।
सरकारले उनीहरुलाई अन्य समुदायको पर्व मनाउन बाध्य पारेको छ तर उनीहरुकै मौलिक पर्व मनाउने वातावारणको सृजना गर्न सकेको छैन । चितवन–नवलपुरका थारु समुदायका बालकदेखि वृद्धवृद्धा, महिला, पुरुष सबैले मनाउने महत्वपूर्ण मौलिक साँस्कृतिक र धार्मिक पर्व यमोसाका दिन स्थानीय विदा हुन आवश्यक रहेको थारु अगुवा बताउँछन् ।