इजरायल := इजरायलमा रहेका २ सय ५३ जना नेपाली बिद्यार्थी र श्रमिक आज शुक्रवार बिहान स्वदेश आइपुगेका छन् । सरकारले उनीहरुलाई नेपाल एअरलाइन्सको विमानबाट स्वदेश ल्याएको हो ।
उनीहरुलाई लिन परराष्ट्रमन्त्री एनपी साउदलगायत सरकारी अधिकारी इजरायल पुगेका थिए । उद्धारका लागि बिहीवार बिहान दुबई हुँदै गएको नेपाल एअरलाइन्सको विमान इजरायलको तेलअभिभ गएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले आवश्यकता अनुसार अरूलाई पनि देशमा फिर्ता ल्याउन सरकारले पहल गर्ने बताउनुभयो । बाँकी रहेका अरुलाई नियमित उडान मार्फत् ल्याउने सरकारको तयारी छ।

इजरायलबाट सकुशल स्वदेश फर्किन पाउँदा नेपाली विद्यार्थीहरूको दृश्य विमानस्थलमा भिन्नै देखिन्थे , एकतिर खुसी देखिन्थे त अर्कातिर सहकर्मी तथा सहपाठी १० जना साथीहरू गुमाउनुपर्दा उत्तिकै दुखी आँसु बगाउँदै गरेको देखिन्थे ।

प्यालेस्टाइनको हमास समूहले गत शनिबार इजरायलमा गरेको आक्रमणमा परी घाइते भएका कैलालीका धनबहादुर चौधरीसहित २५३ नेपाली लिन परराष्ट्रमन्त्री एनपी साउद आफैँ चार्टर विमानमा इजरायल पुगेका थिए ।





















