कांग्रेसका मन्त्रीहरू फिर्ता बोलाऔं, सहमतिमै समाजवादीलाई सरकार चलाउन दिऔं: गगन थापा।

काठमाडौं:= नेपाली कांग्रेस पार्टीका केन्द्रिय महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा भएका कांग्रेसका सबै मन्त्रीहरु फिर्ता बोलाउन प्रस्ताव गरेका छन् ।

आइतबार कांग्रेस रुपान्तरण अभियान बागमती प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधनलाई गर्दै महामन्त्री थापाले समाजवादी मोर्चालाई अढाई वर्ष सरकार चलाउन दिएर कांग्रेसका मन्त्रीहरूलाई फिर्ता बोलाउन प्रस्ताव गरेका हुन्।

‘उहाँहरुले मिलेर समाजवादी मोर्चा बनाउनुभएको छ। म के प्रस्ताव गर्न चाहन्छु भने, यो दुई अढाई वर्ष उहाँहरूले सरकार चलाउने भन्ने कुरा छ। प्रचण्डजी र त्यसपछि माधव नेपाल प्रधानमन्त्री बन्ने भन्ने कुरा छ। उहाँहरुको एउटै मोर्चा छ,’ थापाले अघि भने, ‘कांग्रेसको मन्त्रीहरू सबै फिर्ता बोलऔं। दुई अढाई वर्ष उहाँहरूलाई एक्लै चलाउन दिऔं। हामी फ्लोरबाट समर्थन गरौं।’ उनले भने।

उनले संघमा मात्रै नभएर प्रदेशमा पनि गठबन्धनभित्र नयाँ ढंगबाट जानुपर्ने बताए। महामन्त्री थापाले नेपाली समाजले आज आत्मविश्वास गुमाएको पनि बताए । ‘त्यो आत्मविश्वासलाई नेपाली समाजमा फेरि पुनर्स्थापित  गर्ने कांग्रेसको धर्म हो । एउटा आशा चाहियो, एउटा भरोसा चाहियो । त्यो आशा र भरोस दिन सक्नुपर्‍यो  नेपाली कांग्रेसले । अहिलेको परिस्थितिमा नेपाली काँग्रेस अडिने ठाउँ कहाँ हो ? यसबारे महासमिति बैठकमा खोज्नुपर्ने छ ,’ उनले भने ।

महामन्त्री थापाले वर्तमान संविधानको विकल्प खोज्ने काम भए एउटा अर्को पुस्ता जाने खतरा औँल्याए । ‘हामी सचेत हुनुपर्छ । संविधान निष्ठाको कुरा हो । यो संविधान हामीले बनाएको हो । योभित्र अनेकन विकल्प छन् । हामी विकल्प खोज्छौँ । यसलाई मिलाएर जान्छौँ भन्ने कुराको भर कांग्रेसले दिनुपर्छ ,’ उनले भने ।