काठमाडौं:= इलामको सुन्तलाबारीमा विक्रम संवत् २००९ साल फागुन २८ मा सुवास नेम्वाङको जन्म भएको थियो । विद्यार्थीकालदेखि नै राजनीतिमा होमिनुभएका नेम्वाङ २०२९ सालमा अनेरास्ववियुका तर्फबाट महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा स्ववियु सभापति हुनुभयो । २०३३ सालमा राजकाज मुद्दामा जेल पर्नुभएका नेम्वाङ तत्कालीन नेकपा मालेमा संगठित सदस्य बन्नुभएको थियो ।
२०४७ सालमा तत्कालीन नेकपा माले र नेकपा माक्सवादी पार्टीबीच एकता भएपछि बनेको नेकपा एमालेको कानुन विभाग प्रमुख हुँदै २०५८ सालबाट नेम्वाङ केन्द्रीय सदस्यमा मनोनित हुनुभयो। एमालेको सातौँ महाधिवेशनमा उहाँ केन्द्रीय सदस्य निर्वाचित हुनुभयो। २०७१ सालमा भएको नवौँ महाधिवेशनपछि उहाँ स्थायी कमिटी सदस्य र २०७८ सालमा चितवनमा भएको दशौँ महाधिवेशनमा उपाध्यक्ष बन्नुभयो ।
नेम्वाङ विसं २०६३ मा पुनः स्थापित प्रतिनिसिधासभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसदको सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्षरसभामुख र २०७२ सालमा सभामुख हुनुभएको थियो । विसं २०४८ देखि २०५२ सालसम्म राष्ट्रियसभा सदस्य बन्नुभएका उहाँ त्यस लगत्तै पुनः राष्ट्रियसभा सदस्य हुनुभयो ।
प्रतिनिधिसभा निर्वाचन २०६५ मा इलाम २ बाट निर्वाचित उहाँ संविधानसभा निर्वाचन २०६४ र २०७० मा इलाम २ बाट निर्वाचित हुनुभएको थियो । प्रतिनिधिसभा निर्वाचन २०७४ मा इलाम २ बाट निर्वाचित नेम्वाङ कानून समिति सदस्य, संसदीय दलको उपनेता र २०५६ सालमा सार्वजनिक लेखा समिति सभापति हुनुभएको थियो ।
विसं २०५१ मा न्याय कानून तथा संसदीय राज्यमन्त्री हुँदै मन्त्री हुनुभएका उहाँ सामान्य प्रशासनमन्त्री र स्थानीय विकासमन्त्री हुनुभयो । राजनीतिमा प्रवेश गर्नुअघि नेपाल ल क्याम्पसमा प्राध्यापन र कानून व्यवसाय (वरिष्ठ अधिवक्ता) रहनुभएका उहाँले पञ्चायती निरङ्कुशता विरुद्धको राजनीतिक आन्दोलनका क्रममा पटक-पटक सार्वजनिक सुरक्षा अन्तर्गत नजरबन्द पर्नुभएको थियो ।
प्रधानमन्त्री तुलसी गिरीको पालामा चलाइएको राजकाज मुद्दामा उहाँ सात महिना जेल पर्नुभयो । नेम्वाङले अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गर्नुभएको थियो । उहाँ एमालेको केन्द्रीय न्यायिक समिति सदस्य हुँदै २०७५ बाट नेकपा स्थायी कमिटी सदस्य बन्नुभएको थियो । २०४८ देखि हालसम्म उहाँ लगातार सांसद रहनुभएको छ ।
उहाँ प्राध्यापक संघमा पनि सक्रिय हुनुहुन्थ्यो भने नेपाल बार एसोसिएसनको महासचिव पनि हुनुभयो । राज्यबाट उहाँलाई संविधानसभा पदक, राष्ट्र गौरव पदक प्राप्त छ । गणेशमानसिंह प्रतिष्ठानले उहाँलाई गणेशमानसिंह जनआन्दोलन स्वर्ण पदक प्रदान गरेको छ ।नेम्वाङ नेपाली राजनीतिमा प्रखर, शालीन र सबैलाई मिलाएर जान सक्ने नेताको रुपमा चिनिनुहुन्थ्यो ।




















