नेकपा एमाले उपाध्यक्ष तथा संविधानसभा पूर्व अध्यक्ष सुवास नेम्वाङको निधन।

काठमाडौं := नेकपा एमाले उपाध्यक्ष तथा संविधानसभा पूर्व अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । उनको हृदयघातका कारण त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

बालुवाटारस्थित निवासमा हृदयघात भएसँगै उनलाई परिवारले त्रिवि शिक्षण अस्पताल लगेपनि चिकित्सकले मृत घोषणा गरेको बताइएको छ ।  उहाँ गएको मंसिरमा भएको प्रतिनिधि सभा चुनावमा इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको हो ।

२००९ साल फागुन २८ गते इलाममा जन्मनुभएका नेम्वाङ इलामबाटै २०५६ सालदेखि पाँच पटक विजयी हुनुभएको थियो । २०६३ सालमा पहिलोपटक सभामुख बन्नुभएका नेम्वाङ अन्तरिम संसदमा समेत सभामुख हुनुहुन्थ्यो । पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख बन्नुभएका नेम्वाङकै कार्यकालमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो ।

नेम्वाङको निधनको खबरपछि एमाले नेता कार्यकर्ता र शुभेच्छुकहरु त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पुगेका छन् । यस्तै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरु पनि अस्पताल पुगिसकेका छन् ।