क्वालालम्पुर (मलेसिया):= मलेसियाको तमन मेलावती क्षेत्रमा रहेको एक पसलको झ्यालको सिसा फुटाइदिएको आरोपमा दुई नेपाली युवा श्रमिक पक्राउ परेका छन् ।
मादक पदार्थ (रक्सी) खाएर मातेको अवस्थामा घट्नामा संलग्न २१ र २२ वर्षका दुई नेपाली युवाले मुक्का हानेर एक पसलको सिसा फोडेर भागेको पाइएपछि उनीहरूलाई हिरासतमा लिइएको मलेसियन प्रहरीले जनाएको छ ।
शुक्रबार (सेप्टेम्बर १) बिहान करिब ८ः३० बजे पसलमा आइपुग्दा पसलका ३३ वर्षीय प्रबन्धक मालिकले झ्याल फुटेको फेला पारेको थियो , अम्पाङजया ओसीपीडीका सहायक असिस्टेन्ट कमिसनर अफ पुलिस मोहम्मद आजम इस्माइलले बताए ।
स्थानीय सञ्चार माध्यम द स्टारका अनुसार सीसीटीभी फुटेज जाँच गर्दा दुई युवाले झ्यालको सिसा मुक्का हानेर फुटाएपछि भागेको देखिएको थियो।
झ्यालको सिसा फुटेको पाइएपछि सीसीटीभी जाँच गर्दा अघिल्लो दिन अर्थात् अगस्ट ३० का दिन रक्सीले मातेको अवस्थामा दुई युवाले चार मुक्का हानेर सिसा फोडेको देखिएको खबरमा उल्लेख छ ।
पक्राउ परेकाहरूको नेपालको ठेगाना र परिचय भने खुलाइएको छैन । उनीहरू दुवै जना त्यही क्षेत्रको एक मलको पसलमा सहायक कामदारको रूपमा काम गर्ने रहेको पाइएको छ ।
तर उनीहरूले त्यसअघि मलेसियामा कुनै पनि आपराधिक क्रियाकलाप भने नगरेको पाइएको छ । अहिले दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको र कानुनको उल्लङ्घन गर्ने जो कोही पनि कारबाहीबाट नबच्ने मलेसियन प्रहरीले जनाएको छ ।
[ Source : The Star ]




















