मलेसिया := लगातार चार जित हात पार्दै नेपाल आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्रीय छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार मलेसियामा भएको खेलमा नेपालले चौँथों खेलमा कतारलाई ९ विकेटले पराजित गरेको हो । यससँगै समूह ‘ए’ मा रहेको नेपालले चार खेलबाट ८ अंक जोडेको छ ।
नेपालले समूह चरणको अन्तिम खेल यूएईविरुद्ध बुधबार खेल्नेछ । यस खेलले समूह विजेताको समेत टुंगो लगाउनेछ । सोमबारको खेलमा ७५ रनको लक्ष्य नेपालले १० ओभर ३ बलमा केवल एक विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा काजल श्रेष्ठले ३२, इन्दु वर्माले २० तथा सीता राना मगरले १७ रनको योगदान गरे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७४ रन बनायो । कतारका लागि सच्ची धादवलले सर्वाधिक २१ तथा अलिना खानले १५ रन जोडे । नेपालका लागि इन्दु वर्माले ३ तथा पूजा महतो र कविता जोशीले एकएक विकेट हात पारे ।




















