गोप्य दस्तावेजहरू सार्वजनिक गरेको आरोपमा इमरान खानलाई जेलमा राख्न आदेश।

इस्लामावाद:= पाकिस्तानको एक अदालतले पूर्व-प्रधानमन्त्री इमरान खानलाई गोप्य दस्तावेजहरू सार्वजनिक गरेको आरोपमा जेलमा राख्न आदेश दिएको छ । इस्लामावाद उच्च अदालतले मंगलबार उहाँलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

पाकिस्तानका सबैभन्दा लोकप्रिय राजनीति नेता खान गत वर्ष सत्ताबाट हटेदेखि धेरै कानुनी मुद्दामा फस्नुभएको छ । उहाँमाथि दुई सयवटा मुद्दा लगाइएका छन् । नेता खानले आफूलाई आगामी चुनाव लड्नबाट रोक्न गरिएको षडयन्त्रअनुरूप ती मुद्दा लगाइएको दाबी गर्नुभएको छ ।

नेता खानका वकिल सलमान सफदरले औपनिवेशिक युगको गोप्य कानुनअन्तर्गत नेता खानलाई दुई हप्ता थुन्न म्याद थपिएको बताउनुभएको छ । सैन्य मुद्दा चलाउन प्रयोग हुने कानुन उहाँविरुद्ध लगाइएको सफदरले बताउनुभयो । भ्रष्टाचारको आरोपमा खानमाथि गरिएको तीन वर्षको जेल सजाय मंगलबार उल्ट्याइएको थियो ।

नेता खानको पाकिस्तान तहरीक-ए-इन्साफ (पिटिआई) पार्टीका उपाध्यक्ष, पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि यस मुद्दामा पक्राउ गरिएको छ । रासस/एएफपी ।