काठमाडौं := त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको ‘क्विन्टल सुन’ जोखिएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले साउन २ गते बरामत गरिएको सुन जोखेको हो ।
चिनियाँ तस्करले हङकङबाट ब्रेक सुमा भित्र्याएको एक क्विन्टल बताइएको सुन सोमबार जोखिएको सुनको जम्मा तौल ६० किलो ७८९ ग्राम रहेको टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यले जानकारी दिनुभयो।
महाशाखाले ब्रेक शुबाट सुन छुट्याएर जोखेको हो । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर सुन ल्याएको पाइएको थियो । ब्रेक शुसहितको सुनको तौल भने १५५ किलो रहेको थियो । त्यसबेला ब्रेक शु सहितको तौल लिइएको थियो ।
हङकङबाट गत असार २९ गते ल्याएर अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरिसकेको तस्करीको सुन सिनामंगल सडकबाट राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको टोलीले बरामद गरेको थियो ।
१ सय ६० वटा ब्रेक सु बरामद भएको थियो। सुन प्रकरणको १९ दिनसम्म राजश्वले नै अनुसन्धान गरेपनि पछिल्लो समय केन्द्रीय अनुसन्धान ब्युरोलाई जिम्मा दिइएको छ ।




















