काठमाडौं := पहिलो हिमालयन फुटसल प्रतियोगिताको उपाधि क्रिजल फुटबल क्लबले जितेको छ। काठमाडौंमा सम्पन्न भएको फाइनलमा टीकापुर ग्रिनसिटी फुटबल क्लबलाई ४-१ गोल अन्तरले गोल गर्दै क्रिजलले उपाधि आफ्नो हात पारेको हो ।
विजेता टोली क्रिजल एफसीले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसँगै ट्रफी र मेडल हात पारेको छ। रनर अप बनेको टीकापुर ग्रिनसिटीले ५५ हजार ५ सय ५५ रुपैयाँसँगै रनरअप ट्रफी र मेडल प्राप्त गर्यो।
हिमालयन फुटबल क्लबको आयोजनामा पहिलोपटक भएको फुटसल प्रतियोगिता दुई दिनसम्म चलेको थियो। प्रतियोगितामा देशभरबाट ३८ फुटसल टिमले सहभागिता जनाएका थिए।
प्रतियोगिताको उत्कृष्ट खेलाडी क्रिजल एफसीका विवश पण्डित घोषित भए उनी एक्लैले फाइनलमा उत्कृष्ट ४ गोल गर्न सफल भएका थिए।
उत्कृष्ट गोलकिपरको पुरस्कार टीकापुरका सविन जोशीले प्राप्त गरेका छन्। दुवैले समान ५ हजार ५ सय ५५ रुपैयाँ हात पारे। प्रतियोगितामा ११ हजार १ सय ११ रुपैयाँको फेयर प्ले अवार्ड भाटभटेनी हेल्थ क्लबले प्राप्त गर्यो।
प्रतियोगिताको समापन समारोहमा नेपाली फुटबल टिमका पूर्व कप्तान तथा राष्ट्रिय फुटसल टिमका पूर्व प्रशिक्षक राकेश श्रेष्ठले विजेतालाई ट्रफी प्रदान गरेका थिए ।




















