प्रेमिकाको नग्न तस्वीर, भिडियो पोर्न साइटमा हालेको अभियोगमा मलेसियाबाट प्रकाश विक पक्राउ।

क्वालालम्पुर (मलेसिया):= आफ्नो प्रेमिकाको नग्न तस्वीर तथा भिडियो पोर्न साइटमा हालेको अभियोगमा एक आरोपीलाई प्रहरीले मलेसियाबाट नेपाल लिएर गएको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोको पत्रका आधारमा इन्टरपोलको एनसीबी (नेशनल कन्ट्रोल ब्यूरो) काठमाडौंले इन्टरपोल हेडक्वार्टरलाई म्यादीका २७ वर्षीय प्रकाश विक विरुद्ध रेड नोटिस जारी गर्न आग्रह गरेको थियो । त्यसअनुसार इन्टरपोल महासचिवालयले २४ माघ २०७८ मा रेड नोटिस जारी गरेको थियो ।

नोटिसका आधारमा इन्टरपोल मलेसियाले विकलाई त्यहाँ पक्राउ गरेको थियो । मलेसियाले उनलाई डिपोर्ट गरेर नेपाल पठाइदिएपछि विकलाई सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साइबर ब्यूरोले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार विकले पीडितसँग चिनजान गरी प्रेम सम्बन्धमा रहेको बखत विभिन्न बहानामा नग्न हुन बाध्य बनाएर नग्न भिडियो र फोटोहरु रेकर्ड गरेका थिए । उनले ती फोटोहरु सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्ने र आफन्तलाई समेत पठाएर यातना दिएका थिए ।

पीडितले आफ्नो फेसबुक एकाउन्ट डिएक्टिभ गरेपछि उनको नाममा फेक एकाउन्ट समेत बनाएर ती सामग्रीहरु पोर्न साइटमा समेत अपलोड गरेर चरित्र हत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।

‘पीडितले आफ्नो फेसबुक एकाउन्ट डिएक्टिभ गरेपछि उनको नाममा फेक एकाउन्ट समेत बनाएर ती सामग्रीहरु पोर्न साइटमा समेत अपलोड गरेर चरित्रहत्या गरेको पाइएको थियो ‘, प्रहरीले भने, ‘उनीलाई पक्राउ गरेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले पनि पक्राउ अनुमति दिइसकेको थियो ।’

प्रहरीका अनुसार, अनुसन्धानका क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएको खुलेको थियो । त्यसपछि उनलाई पक्राउ गर्न इन्टरपोलको सहयोग लिइएको थियो । साइबर ब्यूरोले थप अनुसन्धान गरिरहेको छ ।