काठमाडौं:= एक साताको कम्बोडिया यात्रापछि मंगलबार स्वदेश फर्किएका प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलबाटै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निसाना साँधे।
सुन तस्करी प्रकरणलाई लिएर श्रेष्ठमाथि ओली आक्रामक रूपमा प्रस्तुत हुनुलाई अर्थपूर्णरूपमा हेरिएको छ। ओली कम्बोडिया उड्नुभन्दा अघिल्लो दिन गत साताको बुधबार साँझ राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टलभन्दा बढी तस्करीको सुन बरामद गरेको थियो।
भारतबाट ल्याइएका मोटरसाइकल चढ्ने देशमा हङकङबाट ल्याएको मोटरसाइकल र स्कुटरको ‘ब्रेक सु’ को प्रयोजनबारे यसअघि कहिल्यै चर्चा भएन। उक्त ब्रेक सुसहितको सुनको तौल १ सय ५५ केजी रहेको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ।
बलियो सुरक्षा घेरा रहेको अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भएर बाहिर आएको अवस्थामा सुन बरामद भएपछि सिंगो मुलुकको ध्यान त्यतातर्फ तानिएको छ। जसको अहिले राजस्व अनुसन्धान विभागले नै अनुसन्धान तथा तहकिकात गरिरहेको छ। यो प्रकरणमा हालसम्म १७ जना पक्राउ परेका छन्।
यसरी यति ठूलो मात्रामा तस्करीको सुन बरामद भएपछि एमाले अध्यक्ष ओलीले सुरक्षाको विभागीय जिम्मेवारीमा रहने गृहमन्त्री श्रेष्ठमाथि निसाना साँधेका हुन्।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।




















