बोर्डले बहराइनमा कोमाको अवस्थामा उपचाररत दिनेश कुमार चौधरीलाई नेपाल ल्याएर उपचारमा सघाउँदै।

काठमाण्डौँ:= वैदेशिक रोजगार बोर्डले बहराइनमा कोमाको अवस्थामा उपचाररत सुनसरीका दिनेश कुमार चौधरीलाई नेपाल ल्याएको छ । बहराइनको किङ हमाद युनिभर्सिटी अस्पतालमा कोमाको अवस्थामा उपचाररत चौधरीलाई परिवारको आग्रहमा नेपाल ल्याउन लाग्ने सबै खर्च पठाएर बोर्डले स्वदेश ल्याएको हो ।

बोर्डको कल्याण, पुनर्स्थापना तथा सञ्चार शाखाका शाखा अधिकृत नरबहादुर चन्दका अनुसार चौधरीलाई नेपाल ल्याउन गएको असार १२ गते ३२ सय १३ बहराइन दिनार अर्थात् ११ लाख १८ हजार ९५० रुपैयाँ पठाएको थियो। परिवारले दिएको निवेदन अनुसार बोर्डले बहराइनमा रहेको नेपाली दूतावाससँगको समन्वय चौधरीलाई नेपाल ल्याउन यो रकम पठाएको हो ।

‘परिवारले आफ्नो मानिस ल्याउन भनेर बोर्डमा निवेदन दिनुभयो, बहराइनमा रहेको नेपाली दूतावासबाट पनि निदेशकुमार चौधरीको उद्धारका लागि पत्र आएको थियो’ शाखा अधिकृत चन्दले भन्नुभयो ‘बोर्डले यहाँबाट रकम पठाएपछि उताबाट विशेषज्ञ चिकित्सकको टोलीसहितले उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म ल्याइदिएको हो ।’

दिनेशकुमारलाई गएको असार २९ गते कुवेत एयरवेजको उडानमार्फत स्ट्रेचर र अस्पतालका विशेषज्ञ डाक्टरसहित विमानस्थलसम्म ल्याइएको हो । दिनेशकुमारको थप उपचारका लागि बोर्डले नै वीर अस्पतालसँग समन्वय गरेपछि अस्पतालको टोली विमानस्थलसम्म लिन पुगेको थियो ।

सन् २०२२ मा श्रम स्वीकृति लिएर बहराइन जानुभएका दिनेश त्यहाँ आल्मुनियम सम्बन्धी काम गर्नुहुन्थ्यो । श्रीमती सरिता चौधरीका अनुसार दिनेशले घटना हुने दिन पनि काममा जानुअघि परिवारमा सम्पर्क गर्नुभएको थियो ।

‘ह्वाट्सएपमा म्यासेज गर्नुभएको थियो, म काममा आइपुगे भरे काम सकेपछि फोन गर्छु भन्नुभएको थियो’ श्रीमती सरिता भन्नुहुन्छ ‘बेलुका फोन नै आएन यताबाट गर्दा पनि लागेन, भोलिपल्ट मात्रै साउदीबाट उहाँको साथीहरूले अस्पतालमा छ भन्ने खबर गरे ।’

श्रीमती सरिताले पाएको जानकारी अनुसार दिनेशकुमार काम गर्दा गर्दै उच्च रक्तचापका कारण १७ मार्च २०२३ मा ढल्नुभएको थियो । त्यसपश्चात् कम्पनीले अस्पताल पुर्‍याएको थियो । तर त्यहाँ कोमाको अवस्थामा करिब चार महिना उपचार गर्दा पनि होस् नआएपछि अस्पतालको आग्रह र परिवारको चाहना अनुसार १४ जुलाई अर्थात् असार २९ गते नेपाल ल्याइएको हो । Source : ujjyalo online