काठमाडौं:= अबदेखि विदेश भ्रमणमा जाने नेपाली पर्यटकले खर्च गर्ने रकमको पाँच प्रतिशतका दरले पर्यटन शुुल्क तिर्नुपर्ने भएको छ। आन्तरिक राजस्व विभागले वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि २०८० जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
आर्थिक ऐन, २०८० को दफा २२ मा विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क लाग्ने उल्लेख छ ।वैदेशिक भ्रमणको प्याकेज बिक्रेताले प्याकेज बिक्रीका बखत विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले शुल्क लगानी असुल गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।
फर्म वा कम्पनीले व्यवसाय प्रवद्र्धनका क्रममा आफू सम्बद्ध प्राकृतिक व्यक्तिलाई वैदेशिक भ्रमणमा लैजाँदा लाग्ने खर्च रकममा लेखांकनका बखत पाँच प्रतिशतका दरले शुल्क असुल गर्नुपर्नेछ । प्याकेज बिक्रेता वा भ्रमणमा लैजाने फर्म तथा कम्पनीले यस्तो शुल्क करदाता सेवा कार्यालय, आन्तरिक राजस्व कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय र ठूला करदाता कार्यालयमा बुझाउन सक्नेछन् ।
कार्यविधिअनुसार प्याकेज बिक्रेता वा भ्रमणमा लैजाने फर्म तथा कम्पनीले संकलन गरेको शुल्क सम्बन्धित कार्यालयको कोड र तोकिएको राजस्व शीर्षकमा अर्को महिनाको २५ गतेभित्र दाखिला गरिसक्नुपर्नेछ । तोकिएको समयभित्र शुल्क दाखिला नगरेमा वार्षिक २.५ प्रतिशतका दरले हुन आउने थप रकम र वार्षिक १५ प्रतिशतका दरले ब्याज लाग्नेछ ।




















