क्वालालम्पुर (मलेसिया):= नेपाल राष्ट्र बैंकले मलेसियामा रेमिटेन्स बैंकिङ कारोबार गर्दै आएको म्याक्स मनी एसडिएन बिएचडीलाई रेमिटेन्स कारोबारमा रोक लगाएको छ।
राष्ट्र बैंकले एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्था, विप्रेषण कम्पनी लगायतलाई सो संस्थासँग बाँकी वक्यौता लिनपर्ने भएमा त्यस्तो कारोबार मात्र गर्न निर्देशन दिएको छ।
कम्पनीलाई यसअघि २०७५ मा लगाइएको प्रतिबन्ध २०७६ मा खोलिएको थियो। प्रतिबन्ध खोल्दा राखिएका शर्तहरूको पालना नगरेको भन्दै राष्ट्र बैंकले वक्यौता लिने बाहेकका कारोबार नगर्न रोक लगाइएको हो।
राष्ट्र बैंकले सार्वजनिक गरेको सूचना यस्तो छ् :
Max Money Sdn. Bhd., Malaysia ले विप्रेषण कारोबार वापतको रकम नेपाली इजाजतपत्रप्राप्त निकायलाई भुक्तानी नगरेको हुनाले यस बैंकको मिति २०७५/०८/१२ २०७५ ११०२ गतेका परिपत्रहरुमार्फत् यस बैंकबाट इजाजतपत्रप्राप्त निकायहरुलाई सो संस्थासंग कारोबार गर्न लगाइएको प्रतिबन्ध उक्त संस्थाले कुल बक्यौता रकममध्ये आशिक रकम भुक्तानी गरेकोमा यस बैंकको मिति २०७६/१०/०५ को सूचनामार्फत सो प्रतिबन्ध फुकुवा गरिएको तथा उल्लिखित परिपत्रहरु खारेज गरिएकोमा उक्त संस्थाले त्यस्तो प्रतिबन्ध फुकवा गर्दा तोकिएका शर्तहरु पालना नगरेको हुँदा यस बैंकबाट अर्को व्यवस्था नभएसम्मका लागि यस बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था, विप्रेषण कम्पनी, अन्य इजाजतपत्रप्राप्त निकायहरू, सरोकारवाला व्यक्ति तथा निकायले Max Money Sdn. Bhd. संग बाँकी बक्यौताको भुक्तानी लिने कार्य बाहेक कुनै पनि कारोबार नगर्न नगराउनु हुन र Max Money Sdn. Bhd. ले नेपालीहरूसंग मलेसियामा रकम संकलन गरी अन्य Multi-Corridor मार्फत त्यस्तो रकम नेपाल पठाउने कार्यका लागि तेस्रो पक्षबाट Processing भएको रकम समेत स्वीकार गर्ने तथा भुक्तानी गर्ने व्यवस्था नहुने गरी विप्रेषण कारोवारको प्रबन्ध मिलाउनु हुन विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी यो सूचना जारी गरिएको छ ।





















