जिम्बाबे := आईसीसी विश्वकप क्रिकेट छनौट अन्तर्गत सातौं स्थानको लागि भएको खेलमा नेपाल आयरल्यान्डसँग दुई विकेटले पराजित भएको छ। जिम्बावेमा भएको खेलमा नेपाल ४ बल अगावै दुई विकेटले पराजित भएको हो । आयरल्यान्डलाई कठिन जित दिलाउन कर्टिस कम्फरले सर्वाधिक ६२ र ह्यारी टेक्टरले ६० रन बनाए ।
त्यस्तै करण केसीले सर्वाधिक ४ र किशोर महतोले दुई विकेट लिए। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरको खेलमा ९ विकेट गुमाएर २६८ रन बनाएको थियो ।नेपालका लागि गुल्सन झाले अविजित ५७ रन बनाए । त्यस्तै अर्जुन साउद अर्धशतक बनाउन दुई रनबाट चुके भने कुशल मल्ल ६ रनबाट चुके ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनर कुशल भुर्तेल ८ रन बनाएर पेभेलियन फर्किएका थिए । त्यस्तै ज्ञानेन्द्र मल्ल ७, कप्तान रोहित पौडेल २९, भीम सार्की २०, सन्दीप लामिछाने ३२, करण केसी ४ रनबाट आउट भए ।युएईविरुद्ध राम्रो पारी खेलेका दीपेन्द्र सिंह ऐरी शून्यमा आउट भए भने किशोर महतो १ रनमा अविजित रहे ।
योसँगै आयरल्याण्ड र नेपाल दुबैले जिम्बावेको विश्वकप छनोटमा सातौँ र आठौँ स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गरेका छन्। विश्वकपमा भने श्रीलंकाले स्थान पक्का गर्दा अर्को टोलीको टुंगो लाग्न बाँकी छ।




















