चर्चित नेपाली रक गायक तथा संगितकार रविन तामाङको निधन।

काठमाडौं := चर्चित नेपाली रक गायक तथा संगितकार रविन तामाङको निधन भएको छ । ‘रोबिन एण्ड द न्यु रिभलुसन’ रक ब्याण्डका संस्थापक उनको मंगलबार राति निधन भएको हो ।

बूढानीलकण्ठस्थित घरमा तामाङको निधन भएको हो। अहिले पोस्टमार्टमका लागि रविनको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । मंगलबार बेलुका बुढानीलकण्ठ स्थित घरमा रविनको निधन भएको उनको दिदी भगवतीले बताइन् ।

रोबिन पछिल्लो समय चलचित्र अभिनयमा समेत व्यस्त थिए । उनको पछिल्लो फिल्म ‘छड्के २’ थियो । नेपाली रक जनराको गीतको विकासमा उनको योगदान उल्लेख्य मानिन्छ । उनको निधनमा नेपाली संगीतकर्मीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

लाहुरे परिवारका रविनको जन्म सिंगापुरमा भएको थियो । सिंगापुरमै अध्ययन गरेका उनी अमेरिकी गायक तथा संगीतकार जिमी हेन्ड्रिक्स र रक ब्यान्ड डीप पर्पलबाट प्रभावित थिए । सन् १९९६ मा नेपाल आएका उनले गाएका ‘दम मारो दम’, ‘कल्पना’, ‘केटा केटी’, ‘मेरो माया’, ‘ठीकै छ’ जस्ता कयौं गीत युवापुस्तामाझ चर्चित छन् ।

उनले ‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत एक दर्जन बढी नेपाली फिल्ममा अभिनय गरेका छन् । उनको पछिल्लो फिल्म ‘छड्के २’ थियो जहाँ उनी ग्याङस्टर रोलमा थिए । उनले हिन्दी वेब सिरिज ‘दि लास्ट आवर’मा समेत अभिनय गरेका छन् ।