यस वर्षको वार्षिक हज यात्रामा १८ लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन्।

मक्का:= यस वर्षको वार्षिक हज यात्रामा १८ लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन्, साउदी अरबको तथ्याङ्क कार्यालयले मङ्गलबार जनाएको छ। विश्वका सबैभन्दा ठूलो धार्मिक जमघटमध्येको एक यस पर्वका अवसरमा यस वर्षको अनुष्ठानमा २५ लाखभन्दा बढी तीर्थयात्री आउने अनुमान साउदी अधिकारीहरूले गरेका थिए ।

तर सरकारी अल एखबारिया टिभीले सार्वजनिक गरेको आधिकारिक तथ्याङ्कअनुसार सन् २०१९ मा सहभागी भएका २५ लाख उपासकको तुलनामा यो उपस्थिति अपेक्षा गरेभन्दा अझै निकै कम हो । “यो हजको अवसरमा हजयात्रीहरूको कूल सङ्ख्या महिला पुरुष गरी १८ लाख ४५ हजार ४५ रहेका छन्,” तथ्याङ्क कार्यालयले जनाएको छ ।

कोभिड–१९ को महामारीपछि अघिल्लो वर्ष यो सङ्ख्या १० लाखमा सीमित भएको थियो । यस वर्षको सहभागिता अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि देखिएपनि साउदी अधिकारीले यस वर्ष सन् २०१९ को सहभागिताको हाराहारीमा हजयात्री साउदी अरब पुग्ने प्रक्षेपण गरेका थिए ।

सन् २०२० मा कोरोना भाइरसको महामारी उत्कर्षमा पुगेको बेला १० हजारलाई मात्र अनुमति दिइएको थियो भने सन् २०२१ मा यो सङ्ख्यालाई बढाएर ५९ हजार पु¥्यायएको थियो ।

हज इस्लामका पाँच स्तम्भहरूमध्ये एक हो र सबै मुसलमानहरूले आफ्नो जीवनमा कम्तीमा एक पटक मक्का पुग्नै पर्ने मान्यता राख्छन् ।-(रासस/एएफपी)