आइसिसी विश्वकप छनोट क्रिकेट: वेस्ट इन्डिजसँग नेपाल १०१ रनले पराजित।

जिम्बाबे:= नेपाल आइसिसी विश्वकप छनोटमा दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग पराजित भएको छ । जितको लागि ३ सय ४० रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभर खेल्दै २ सय ३८ रनमा अल आउट भएको हो ।

नेपालका लागि आरिफ शेखले ९३ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ६३ रन बनाए । त्यो रन जितको लागि पर्याप्त हुन सकेन । गुलशन झा ५८ बलमा ५ चौका र १ छक्कासहित ४२ रनमा आउट भए । नेपालका करण केसीले २७ बलमा ४ चौका र १ छक्कासहित २८ रन बनाए । नेपालका ब्याटर वेस्ट इन्डिजको बाउन्सर सामु धेरै समय क्रिजमा टिक्न सकेनन् ।

बिहीबार नै भएको अर्को खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई पाँच विकेटले हरायो । पहिलो ब्याटिङ गरेको अमेरिकाले निर्धारित ओभरमा आठ विकेट गुमाएर दुई सय ११ रन बनायो । जवाफी ब्याटिङमा ओर्लिएको नेदरल्यान्ड्सले ४३.२ ओभरमा पाँच विकेट गुमाएर दुई सय १४ रन बनाउँदै विजय लक्ष्य पार गरेको थियो ।

यसैगरी समूह ‘बी’ मा दुई खेल खेलेको ओमान चार अंकसहित पहिलो स्थानमा छ । एक खेल खेलेको श्रीलंका दुई अंकसहित दोस्रो र एक खेल खेलेको स्कटल्यान्ड दुई अंकसहित तेस्रो स्थानमा छन् । दुई खेल खेलेको आयरल्यान्ड चौथो र समान खेल खेलेको संयुक्त अरब इमिरेट्स (यूएई) पाँचौं स्थानमा आसिन छन् । आयरल्यान्ड र यूएईले भने अंक जोड्न सकेका छैनन् ।

पहिलो चरणको खेलपछि दुबै समूहबाट माथिल्लो तीन स्थानमा रहने टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन् । दुबै समूहको चौथो र पाँचौं स्थानमा रहने टोलीले प्लेअफ चरणको खेल खेल्नेछन् । यो छनोट प्रतियोगितामा पहिलो र दोस्रो हुने टोली यसै वर्ष भारतमा आयोजना हुने एकदिवसीय विश्वकपका लागि चयन हुनेछन् ।

यो प्रतियोगिताले सहभागी अन्य टोलीको वरियतासमेत निर्धारण गर्नेछ ।आईसीसी एकदिवसीय विश्वकपको १३औं संस्करण आगामी अक्टोबर/नोभेम्बरमा हुनेछ । उक्त विश्वकपमा १० टोलीको सहभागिता जनाउने छन् । अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इङ्ल्यान्ड, भारत, न्युजिल्यान्ड, पाकिस्तान र दक्षिण अफ्रिका गरी विश्वकपमा सहभागी हुने आठ टोलीको भने यसअघि नै टुंगो लागिसकेको छ ।