छात्रवृत्ति विवरण नबुझाउने ३९ वटा विद्यालयलाई बालेनले तोके लाखौं रुपैयाँ जरिवाना।

काठमाडौं := छात्रवृत्ति विवरण नबुझाउने ३९ वटा विद्यालयलाई काठमाण्डौ महानगरपालिकाले १ लाख रुपैयाँका दरले जरिबाना तोकेको छ। काठमाण्डाै महानगर क्षेत्रभित्र भएका ५ सय ४ निजी विद्यालयमध्ये ४ सय ६५  वटाले छात्रवृत्ति विवरण बुझाएका र बाँकी ३९ वटाले नबुझाएका महानगरले जनाएको छ ।

उनीहरुबाट महानगरले एक लाख रुपैयाँका दरले जरिबाना लिने मेयर बालेन्द्र शाहले बताउनुभयो। जरिबाना तिराएर थप एक पटक विवरण बुझाउने मौका दिइने र त्यसपश्चात् पनि विवरण नबुझाएमा विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिने उहाँले बताउनुभयो ।  महानगरको इतिहासमा यो पहिलो पटक हो ।  त्यसबाट लक्षित वर्गका १३ हजार जनाभन्दा बढी विद्यार्थीहरूले विभिन्न किसिमका छात्रवृत्ति प्राप्त गरेका छन् ।