क्वालालम्पुर (मलेसिया):= मलेसिया पठाउने नाममा लाखौं रूपैयाँ असुल गरेको द रिभर ओभरसिज ( The River overseas ) नामक म्यानपावरले १९ जना नेपाली श्रमिकलाई झुलाएको छ। वैदेशिक रोजगार विभागलाई समेत अटेर गरेको छ। वैदेशिक रोजगारीका लागि मलेसिया पठाउने भन्दै ओभरसिजले प्रति व्यक्ति २ लाख ५५ हजार रूपैयाँसम्म बढी असुल गरेको थियो । उक्त असुल गरेको रकम तीन दिनभित्र फिर्ता गर्ने लिखित प्रतिबद्धता गरेको थियो।
रातोपाटीलाई प्राप्त प्रतिबद्धता पत्रमा १ कात्तिक २०७९ मा पीडितहरूलाई ३ दिन भित्रमा उक्त रकम फिर्ता गर्ने भन्ने उल्लेख गरिएको छ । तर, लिखित प्रतिबद्धता गरेको सात महिना वितिसक्दा पनि पैसा फिर्ता नगरेको पीडितहरूले बताएका छन्। मलेसिया उड्नुअघि विभागले उक्त कम्पनीमा छापा मारेको थियो । त्यही क्रममा बढी रकम लिएको पाइएपछि विभागले कारवाही गरेको थियो । र, ३ दिन भित्रमा बढी लिएको रकम फिर्ता गर्ने प्रतिबद्धता जाहेर गरेको थियो ।
भएको के थियो ?
२०७९ कात्तिक १ गते रोजगारीका लागि मलेसिया जान लागेका २० जना श्रमिकबाट पैसा लिएको भन्ने सूचना वैदेशिक रोजगार विभागमा आयो । सूचनाको आधारमा विभागको टोली अनुगमनका लागि द रिभर ओभरसिज प्रालिमा पुग्यो । अनुगमनमा खटिएको विभागको टोलीले देवान कन्सल्टेन्ट प्रालिबाट वैदेशिक रोजगारीको लागि मलेसिया जानको लागि अन्तिम श्रम स्वीकृति र टिकट भएका १९ जनासँग २ लाख ५६ हजार रूपैयाँसम्म लिएको पाइयो ।
उनीहरूबाट ४३ लाख ७४ हजार रूपैयाँ लिइसकेको पाइयो । विभागको टोली म्यानपावरमा पुग्दा एक कोठामा श्रमिकहरूलाई पूर्व प्रस्थानको बारेमा जानकारी दिइराखेको थियो । उनीहरूलाई सोधपुछ गर्दा उक्त पैसा लिएको पाइएपछि विभागले आवश्यक कागजात नियन्त्रणमा लिएको थियो। द रिभर ओभरसिज प्रालिले मलेसियामा २० जना श्रमिकलाई आफ्नो मेनपावरमार्फत् पठाउन लागेको भनेको तर देवान कन्सल्ट्यान्टबाट भिसा र श्रम स्वीकृति लिएको पाइएको थियो।
यसरी श्रमिकहरूलाई आफूले नै पठाउन लागेको र मलेसिया पुगिसकेपछि पनि सबै जिम्मेवारी आफूले नै लिने द रिभर ओभरसिज प्रालिले बताएको थियो । तर, भिसा र श्रम स्वीकृति भने अर्कै म्यानपावर कम्पनीबाट लिएको थियो। देवान कन्सलट्यान्टमार्फत् भिसा र श्रम स्वीकृति लिई कात्तिक २ गते मलेसियाको उडान तय भएको थियो ।
त्यसपछि विभागको टोलीले सबै श्रमिकहरूलाई निःशुल्क मलेसिया पठाउने र तिरेको रकम उनीहरूका आफन्तलाई दिन निर्देशन दिएको थियो । सोही आधारमा तीन दिन भित्रमा पैसा दिने भन्ने कागज गरेको थियो। दुवै संस्थाका प्रतिनिधिहरूको रोहवरमा छलफल गरी तीन दिनभित्र मेनपावरले लिएको रकम श्रमिकका आफन्तलाई फिर्ता गर्ने लिखित प्रतिबद्धता गरिएपनि उक्त रकम अझैसम्म नपाएको पीडितहरूको भनाई छ ।
रकम फिर्ता माग्दा धम्की
रातोपाटीको सम्पर्कमा आएका एक जना पीडितका आफन्तले मेनपावर कम्पनीले स्वयम् व्यक्ति आएपछि मात्र पैसा फिर्ता गर्ने भनेको बताए । ‘हामीले पटक पटक सम्पर्क ग¥यौं । तपाईंहरूलाई पैसा दिन्नौं । जो व्यक्ति विदेश गएको हो, त्यही व्यक्ति आएपछि मात्रै फिर्ता गर्छौ भन्यो । अहिले त फोन पनि उठाउनै छोडेको छ ।’ ती पीडितका आफन्तले भने ।
मेनपावरवालाले फोन गरेर पैसाको कुरा गर्दा पैसा नदिने भन्दै धम्की दिने गरेको उनीहरूको भनाई छ । दुई महिना अघिसम्म निरन्तर फलोअप गर्दा मेनपावरले विभिन्न बहाना बनाएर टार्दै गएको उनीहरूको भनाई छ । पैसा दिन आनाकानी गरेपछि आफूहरूले अहिले फलोअप गर्न छोडेको उनीहरूको भनाई छ।
कोही पीडित आए कारवाहीको लागि तुरून्तै पत्र काट्छौं : विभाग
विभागका तत्कालीन महानिर्देशक उमाकान्त आचार्य र उद्धार तथा समन्वय शाखाका निर्देशक डम्बरबहादुर सुनुवारको रोहबरमा श्रमिकसँग सहमति गरिएको थियो ।
अहिले दुवै जनाको सरूवा भइसकेको छ । विभागको महानिर्देशकमा मदन दाहाल आएका छन् भने निर्देशक सुनुवार उक्त शाखाबाट इजरायल÷जापान शाखामा छन् ।
उद्धार तथा समन्वय शाखामा अहिले गोपालराज तिमिल्सिना आएका छन् । निर्देशक तिमिल्सिनाले हालसम्म पैसा जम्मा भएकोबारे विभागमा कुनै जानकारी नआएको बताए ।
त्यो बेला तीन दिनभित्रमा पैसा फिर्ता गर्ने सहमति गरिएको तर विभागको सिस्टममा अहिलेसम्म पनि पैसा दिएको नदेखिएको बताए ।
पैसा नपाएपछि कुनै पनि पीडितहरू विभागमा नआएको भन्दै उनले कोही आएर पैसा नपाएको भन्दै निवेदन दिएमा तत्काल पत्र काट्ने बताए । यो विषयमा सम्बन्धित मेनपावर सञ्चालकसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।
NEWS SOURCE : RATOPATI.COM रातोपाटी डटकम




















