एजेन्सी := इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट- २०२३ को उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ । अहमदाबादमा भएको फाइनल खेलमा अघिल्लो सिजनको विजेता गुजरात टाइटन्सलाई पराजित गर्दै चेन्नाईले उपाधि जितेको हो ।
वर्षाका कारण प्रभावित खेलमा चेन्नाईले गुजरातलाई ५ विकेटले हराउँदै पाँचौ पटक आईपीएल उपाधि आफ्नो नाम गरेको छ । डीएलएस मेथदका आधारमा १५ ओभरमा १७१ रनको लक्ष्य पछ्याएको चेन्नाईले अन्तिम बलमा जित हात पारेको हो ।
वर्षाले प्रभावित भएको खेलमा चेन्नईले १५ ओभरमा १७१ रनको लक्ष्य पाएको थियो। जुन लक्ष्य चेन्नईले अन्तिम बलमा ५ विकेटको क्षतिमा पूरा गर्यो। चेन्नईका लागि ओपनरद्वय ऋतुराज गायकवाडले १६ बलमा २६ रन र डेवन कनवेले २५ बलमा ४७ रन जोडे।

अजिन्का राहाणे २७ रन, अम्बाती रायदु १९ र कप्तान महेन्द्रसिंह धोनी शून्यमा आउट भए। शिवम् दुवेले नटआउट ३२ रन र जडेजाले नटआउट १५ रन जोडे।
अन्तिम ओभरमा जितका लागि १४ रन चाहिएको चेन्नईका लागि दुवे र जडेजाले चार बलसम्म ३ रन मात्र जोडेका थिए। पाँचौ बलमा जडेजाले गुजरातका मोहित शर्मालाई छक्का प्रहार गरे। त्यसपछि जितका लागि अन्तिम बलमा चौका चाहिएको थियो जसमा जडेजाले चौका नै प्रहार गर्दै चेन्नईलाई च्याम्पियन बनाए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेटको क्षतिमा २१४ रन जोडेको थियो।
उसका लागि साई सुदर्शनले ९६ रन जोडे। उनले ४७ बलमा ८ चौका र ६ छक्का हिर्काए।
ऋद्धिमान साहले ५४ रन र शुभमन गिलले ३९ रन जोडे। बलिङमा चेन्नईका मथीशाले दुई विकेट लिए। उपविजेतामै सीमित बनेको गुजरातका गिल प्लेयर अफ दि सिरिज भए। उनले प्रतियोगिताभरमा सर्वाधिक रन जोड्ने क्रममा ८९० रन जोडे।




















