काठमाडौं := काजकिस्तानलाई पराजित गर्दै भारतले काभा महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबार भएको फाइनलमा भारतले काजकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको हाे ।
पहिलो सेट २५-१५ ले जितेको भारतले प्रतिस्पर्धात्मक दोस्रो सेटमा काजकिस्तानलाई २५-२२ ले पछि पार्यो । प्रतियोगितामा बलियो मानिएको काजकिस्तान त्यसपछि कुनैपनि समय खेलमा फर्किन सकेन । तेस्रो सेट १८-२५ ले गुमाउँदै उपाधि भारतलाई सुम्पियो ।
यसअघि तेस्रो स्थानका लागि भएको खेलमा साविक विजेता नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा हरायो । तेस्रो बन्ने क्रममा नेपालले २०–२५, २५–१६, २५–१५, २५–१३ को जित निकालेको थियो ।
यससँगै भारतले नेपालमा सम्पन्न दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि उचाल्न सफल भएको छ । यसअघि भारतले नेपालमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गत महिला भलिबलको उपाधि उचालेको थियो ।
राखेपको विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा भएको प्रतियोगितामा विभिन्न आठ देशका टोलीको सहभागिता रहेको थियो । विजेतालाई युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, राखेप सदस्यसचिव लगायतले पुरस्कार प्रदान गर्नुभयो ।




















