आईपीएल क्रिकेटमा आज साविक विजेता गुजरात टाइटन्स र चेन्नई सुपर किङ्स भिड्दै, पुरस्कार २० करोड।

एजेन्सी := इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १६औँ संस्करणको फाइनल खेलमा आज साविक विजेता गुजरात टाइटन्स र चेन्नई सुपर किङ्स भिड्दैछन्।अहमदाबादमा बेलुका पौने ८ बजे सुरु हुनेछ। गुजरात शीर्ष र चेन्नई दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा खेलेका थिए।  पहिलो क्वालिफायरमा चेन्नईले गुजरातलाई १५ रनले हराउँदै फाइनलमा पुगेको थियो।

गुजरात दोस्रो क्वालिफायर खेलमा पाँच पटकको च्याम्पियन मुम्बईलाई ६२ रनले हराउँदै फाइनलमा चेन्नईसँगको भेट पक्का गरेको हो। गएको वर्ष पहिलो पटक आईपीएल खेलेको गुजरातले पहिलो वर्ष नै उपाधि जितेको थियो। चार पटकको विजेता चेन्नईले आईपीएलमा फाइनल खेल्न लागेको यो दशौँ पटक हो।

यो फाइनल खेल पछि पुरस्कारको वर्षा हुनेछ। आईपीएल च्याम्पियन हुने टोलीले २० करोड रुपैयाँ पाउने छ भने फाइनलमा पराजित हुने टोलीले पनि १३ करोड रुपैयाँ पाउनेछ। जबकि तेस्रो नम्बरमा रहेको टोली मुम्बई इन्डियन्स र चौथो स्थानमा रहेको लखनउ सुपर जायन्ट्सले पनि ठूलो रकम पाउने छन् । यस बाहेक अन्य पुरस्कार पनि प्रदान गरिने छ ।

विजेता टोलीले २० करोड पाउनेछ भने उपविजेताले १३ करोड पाउनेछ । तेस्रो स्थानको टोली मुम्बई इन्डियन्सले ७ करोड, चौथो स्थानको टोली लखनऊ सुपरजायन्ट्सले ६.५ करोड पाउनेछ । यस्तै इमर्जिङ प्लेयर अफ द टुर्नामेन्टले २० लाख रुपैयाँ, सिजनको सुपर स्ट्राइकरले १५ लाख, सबैभन्दा धेरै रन बनाएर ओरेन्ज क्याप जित्नेले १५ लाख, सबैभन्दा धेरै विकेट लिएर पर्पल क्याप जित्नेले १५ लाख, सिजनको सबैभन्दा मूल्यवान खेलाडीले १२ लाख, सबैभन्दा धेरै छक्का हान्नेले १२ लाख र गेम चेन्जर अफ द सिजनले १२ लाख पाउनेछन् ।

आईपीएल २०२३ मा प्लेअफ सहित कुल ७४ खेलहरू आयोजना गरिएको छ। यस अवधिमा लिग चरणमा कुल ७० खेल खेलिएका थिए जसमा १८ डबल हेडर थिए । यसपटक गुवाहाटी, धर्मशालाले पनि आईपीएल खेल आयोजना गर्ने मौका पाए । धर्मशाला पञ्जाब किंग्स र गुवाहाटी राजस्थान रोयल्सको घरेलु मैदान थियो। यस बाहेक अहमदाबाद, मोहाली, लखनउ, हैदरावाद, बैंगलोर, चेन्नई, दिल्ली, कोलकाता, जयपुर, मुम्बईमा पनि खेल खेलिएको छ ।